७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए युके अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा, यस्ता छन १० बुँदे प्रतिवद्धता

नेपालब्रिटेन डट कम्
३० असार २०७८, बुधबार १४:३३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा दिपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन ।

मंगलबार साँझ एक भर्चुअल समारोहबीच आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्दै श्रेष्ठले १० बुँदे एजेन्डा एवम प्रतिबद्धताहरु पनि सार्वजनिक गरेका छन।

बेलायतस्थित नेपाली समुदायका अगुवा, संघसंस्थाका प्रतिनिधि र एनआरएनए अभियन्ताहरुको उल्लेख्य उपस्थितिमाझ उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले एनआरएनए यूकेलाई आर्थिक पारदर्शितायुक्त, प्रविधिमैत्री, सबैको सहभागितामुलक संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता गरे ।

नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पत्तिको सुरक्षादेखि भूतपूर्व गोर्खाको हकअधिकार स्थापना लगायतका एजेन्डा आफ्नो मूल प्राथमिकतामा रहने उनले स्पष्ट पारे ।

‘मेरो अपेक्षा यहांहरुले मलाई अमुल्य मत दिएर जिताइदिनु हुनेछ भन्ने छ’, श्रेष्ठले भने, ‘चुनाव जितेर मेरो आकांक्षा पुरा होस, त्यसको बदलामा म यहांहरुले आशा र भरोसा गरे अनुरुप नै काम गरेर देखाउने वचनवद्धता व्यक्त गर्न चाहन्छु।’

घोषणासभामा श्रेष्ठलाई बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ताहरुसहित एक सय बढी वक्ताले शुभकामना दिएका थिए । शुभकामना मन्तव्य राख्नेहरुमा वरिष्ठ समाजसेवी डा राघवप्रसाद धिताल (ओबिई), नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल, तमुधिं युके अध्यक्ष हित काजी गुरुङ, मगर संघ युके अध्यक्ष सुनिल राना, पासा पुच: युके अध्यक्ष ओजेश सिंह, पूर्व अध्यक्ष कुमार श्रेष्ठ, सहारा युके अध्यक्ष कुमार गुरुङ, एनआरएनए मानार्थ परिषद सदस्य विनोद ज्ञवाली, आइसिसी सदस्य सुरोज मास्के र अर्कराज तिम्सिना, विश्वासदीप तिगेला, साझा नेपाली समाज युके निवर्तमान अध्यक्ष महेश अधिकारी, प्रवासी नेपाली मन्च युके अध्यक्ष राजेन्द्र पुडासैनी, डायमन्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष सुमलकुमार गुरुङ लगायत थिए ।

त्यसैगरी, तमुधिं युके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु रामचन्द्र सुर्जे गुरुङ, ज्ञाम गुरुङ र नन्दजंग गुरुङ, तमु समाज युके निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, पशुपतिनाथ मन्दिर लन्डन अध्यक्ष नरेन्द्र कंडेल, साउथ इष्ट तमुधिं एवम् हंककङ नेपाली मन्च अध्यक्ष ह्यारी गुरुङ, आरजीएनएसका पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ, वील्शायर नेपाली समाज अध्यक्ष ज्ञानप्रसाद गुरुङ,ठकुरी समाज साउथ इष्ट अध्यक्ष एवम् जिगेसा महासचिव हरिकुमार मल्ल, क्षेत्री समाज युकेका उपाध्यक्ष श्रद्धा थापा, दिदीबहिनी समूहकी अन्जना थापा, चार्ल्टन नेपाली समाज युके अध्यक्ष कृष्ण खरेल, बेक्सली नेपाली समाज अध्यक्ष आनन्द धरेल, प्रवासी नेपाली मन्च साउथ इष्टका केदार थपलिया र राजु न्यौपाने लगायतले पनि शुभकामना मन्तव्य दिँदै श्रेष्ठलाई शुभकामना दिए।

श्रेष्ठका प्रतिवद्धताहरुको पूर्ण पाठ :

आदरणीय एनआरएनए अभियन्ताज्यूहरु, मेरा अग्रज, पथ प्रदर्शक र श्रद्धेय व्यक्तित्वहरु, मेरो निर्वाचन अभियानमा दिनरात खटिनुहुने साथी सहकर्मीहरु, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु । मेरो उम्मेदवारी घोषणासभामा आफ्नो अमुल्य समय दिएर उपस्थित हुनुभएका यहांहरु सबैमा मेरो न्यानो अभिवादन ।

एनआरएनए यूकेको २०२१–०२३ कार्यकालका लागि मैले अध्यक्षमा उम्मेदवारी दिनेबारे यहांहरुलाई यसअघि पनि विभिन्न माध्यमबाट प्रत्यक्ष अप्रत्यक्ष अवगत भएको हुनुपर्छ । म अहिले उम्मेदवारी घोषणाको औपचारिक चरणमा आइपुगेको छु । मेरा श्रद्धेय अग्रजहरुकै सल्लाह र सुझावले म आफ्नो उम्मेदवारी घोषणाको अवस्थामा आइपुग्दा आफूलाई गौरवान्वित महशुस गरिरहेको छु ।

मलाई हजुरहरुकै साथ समर्थनले थप आत्मबल र उर्जा मिलेको अनुभूति भइरहेको छ । म बेलायतका जति शहर पुगें, सबै ठाउंमा मप्रति हजुरहरुको सद्भाव, माया र सुझाव सल्लाह मार्गदर्शक र उत्प्रेरणाको श्रोत बनेको महशुस गरेको छु । यसका लागि म यहांहरुप्रति पुनः कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

अध्यक्षमा मेरो उम्मेदवारी किन ?

म आफ्ना एजेन्डा र प्रतिवद्धताहरु सार्वजनिक गर्नुअघि मेरोबारे संक्षिप्त पृष्ठभूमि उल्लेख गर्न चाहन्छु ।

समाजसेवा वा सामाजिक अभियन्ताको दायरा कतिसम्म फराकिलो हुनुपर्छ मलाई त्यति ज्ञान छैन् । तर, समाज र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने चाहना सानैदेखि थियो । व्यापार, व्यवसाय पारिवारिक पृष्ठभूमि भएपनि म यसमा मात्र सिमित रहन सकिन् । जति दान गर्न सक्यो उति आफूलाई फलिफाप हुन्छ भन्ने पिता पुर्खाको मान्यता अनुशरण गर्दै आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहन्थें ।

जब सन् २००७ मा बेलायतलाई कर्मभूमि बनाउंदै यहां आइपुगें, व्यवसायसंगै मेरो समाजसेवा कर्म अझ तीव्र रुपमा अगाडि बढ्यो । मेरो एनआरएनए यूकेमा आवद्धता पनि यसपछाडिको प्रमुख कारण रह्यो ।

एनआरएनए यूके, बुद्ध फाउन्डेसन यूके, कपिलवस्तु समाज यूकेसहित बेलायत तथा नेपालमा कयौं सामाजिक संस्थामा आवद्ध रहेर निरन्तर परोपकारी कार्य गर्दा ममा संस्थाको नेतृत्वको अनुभव मात्र होइन्, मन मस्तिष्कमै सहयोगी भावना जागृत गरायो ।

सन् २०१५–१७ मा मुछेत्र गुरुङको कार्यकालमा कोषाध्यक्ष भएर मैले जे जति भूमिका निर्वाह गरें, एनआरएनए यूके वृत्तमा पाएको प्रशंसाले मलाई यस संस्थामा क्रियाशिल रहन थप उर्जा दिलायो ।

एनआएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष जिम्मेवारीले पनि धेरै सिक्ने मौका पाएं । महाभूकम्प, कोभिड महामारी, प्राकृतिक विपत्ति होस् वा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन । अथवा सेन्ट्रल लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने कार्यक्रम नै किन नहोस्, मैले आफूलाई अग्रपंक्तिमा उभ्याइरहें । छिमेकी भारतले बुद्धको जन्मस्थान भारत भनेर भ्रम फैलाइरहंदा हामीले ट्राफलगर स्क्वायरमा वर्षेनी बुद्ध जयन्ती कार्यक्रम राखेर विश्वलाई भगवान बुद्धको वास्तविकताबारे छर्लंग पार्ने कोशिस गर्यौं । आफ्नो मातृभूमिमा संकट आइपर्दा होस् वा अरु कसैले हस्तक्षेप गर्ने प्रयत्न गर्दा, जति नै पारिवारिक तथा व्यवसायिक व्यस्तता भएपनि चुप लागेर बस्न नसकिने रहेछ । म हरेक कालखण्डमा राष्ट्रिय मुद्दा आउंदा कुनै बहाना बाजी बनाएर उम्किन खोजिन । बेलायतको नेपाली समुदायलाई मेरो संलग्नताबारे पक्कै अवगत भएको मलाई विश्वास छ ।

एनआरएनए यूकेको आगामी नेतृत्व गर्ने अवसर पाए अझ धेरै गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।

मेरो अपेक्षा यहांहरुले मलाई अमुल्य मत दिएर जिताइदिनु हुनेछ भन्ने छ । चुनाव जितेर मेरो आकांक्षा पुरा होस्, त्यसको बदलामा म यहांहरुले आशा र भरोसा गरे अनुरुप नै काम गरेर देखाउने वचनवद्धता व्यक्त गर्न चाहन्छु ।

गैरआवासीय नेपाली संघ बेलायतको २०२१-२०२३ कार्यसमितिमा अध्यक्ष पदको उम्मेदवारका रुपमा निम्नानुसारका मेरा एजेन्डा र प्रतिवद्धताहरु यहाँहरुमाझ राख्ने अनुमति चाहन्छु :

१ पारदर्शिता- मेरो प्रतिवद्धता

गैरआवासीय नेपाली संघ बेलायत भन्नेवित्तिकै आम समुदायले संघभित्रको आर्थिक पारदर्शिताको विषयमा चासो र चिन्ताहरु राख्ने, प्रश्नहरु उठाउने तथ्य हामीमाझ लुकेको छैन ।

लामो समय संघभित्रै र एक कार्यकाल कोषाध्यक्षकै जिम्मेवारीमा बसेर काम गर्दा मैले संस्थाको आर्थिक पक्षलाई अझै राम्रोसँग बुझ्ने मौका पाएँ । समस्याहरु छन्, तर त्यो भन्दा बढी बाहिर हल्ला, भ्रम र आशंकाहरु छरिएका छन् । संस्थाको आर्थिक व्यवस्थापन पारदर्शी र चुस्त बनाउन सके मात्रै यस्ता र अन्य कयौं समस्याहरु आफै हल हुन्छन् भन्ने मलाई विश्वास छ ।

मेरो कार्यकालमा संघको आर्थिक हिसाबकिताबलाई पारदर्शी र व्यवस्थित पारिनेछ,अधावधिक हिसाबकिताब आम सदस्यहरु र समुदायसामु नियमित रुपमा सार्वजनिक गरिनेछ ।

समग्रमा संघलाई आर्थिक पारदर्शितायुक्त संस्था बनाइनेछ ।

त्यसबाहेक संस्थालाई सक्दो बढी प्रविधिमैत्री बनाउने, ‘स्मार्ट एनआरएनए’ को नारालाई साकार पार्ने गरी अनलाइन सदस्यता वितरण तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित र परिपक्व बनाउने, सदस्यता वितरण र निर्वाचनसँग जोडिएका विकृतिहरु हटाउने लगायतका संस्थागत सुधार र विकासका कार्यहरु मेरो प्राथमिकतामा रहनेछन् ।

२ नेपाली नागरिकता निरन्तरता- हुनेछैन् कुनै सम्झौता

प्रवासमा बस्ने हामी दशौं लाख नेपालीहरुको मनमा सधैं बिझाइरहने एउटै विषय हो- नेपाली नागरिकताको निरन्तरता । भौतिक रुपमा विदेशमा रहेर पनि भावनात्मक, सामाजिक, आर्थिक, सांस्कृतिक हरेक हिसाबले मातृभूमि नेपालसंगै निकट रहेका हामी गैराअवासीय नेपालीहरुबाट जबर्जस्ती हाम्रो नेपाली नागरिकता खोसिने कार्य हामीलाई किमार्थ स्वीकार्य छैन् । हाम्रो नागरिकताको निरन्तरतासंगै हाम्रा सन्ततिहरुको नेपाली बन्न पाउने अधिकार, नेपालस्थित हाम्रो पैत्रिक सम्पत्तिमाथिको अधिकार लगायतका सवालमा कुनै पनि सम्झौता हुन सक्दैन ।

हामी सबैको ठूलो चासो र सरोकार रहेका यी विषयहरुमा सम्बन्धित विज्ञहरु समेतलाई संलग्न गराउँदै गैरआवासीय नेपाली संघ केन्द्र समेतको समन्वयमा नेपाल सरकार र राजनीतिक नेतृत्वसँग निरन्तर लबिङ, दबाब, संवाद, पहल लगायतका अभियानहरु चलाइनेछ ।

३ गोर्खाको मुद्धा- हाम्रो ऐक्यबद्धता

बेलायती सेनामा सेवा गर्नुभएका भूतपूर्व गोर्खा सैनिकहरुको समान हक-अधिकार स्थापनाको अभियानमा म नेतृत्वको गैरआवासीय नेपाली संघ बेलायतको पूर्ण साथ, समर्थन, ऐक्यबद्धता र सहभागिता रहनेछ ।

बेलायतस्थित गोर्खा संगठनहरुसँगको निकट सहकार्य र समन्वयमा गोर्खाहरुको पक्षमा बेलायत तथा नेपालका सरकार एवम् राजनीतिक नेतृत्वसँग लबिङ गर्ने, उहाँहरुको आवाजलाई अझै ठूलो मन्चहरुमा पुर्याउन सहयोग गर्ने, गोर्खा आन्दोलनका पक्षमा माहोल बनाउने गरी वहस, अन्तरक्रियाहरु आयोजना गर्ने लगायतका गतिविधि संचालन गरिनेछन् ।

बेलायतमा बस्नुहुने भूतपूर्व गोर्खा समुदायका बुवाआमाहरुका व्यवहारिक समस्या समाधानको पहल गर्दै आवश्यक सहयोगको प्रवन्ध गर्ने कोशिश् गरिनेछ ।

४ कर्मभूमिमा कमाइ, मातृभूमिमा लगानी

संसारका जुनसुकै कुनामा रहेपनि हरेक नेपालीको मन, मुटुमा नेपाल नै रहन्छ । तीनै गैरआवासीय नेपालीहरु विदेशी भूमिमा आर्जन गरेको आफ्नो स्रोत र पूंजी नेपालमा लगानी गर्ने उपयुक्त अवसरको खोजीमा छन् ।

व्यवसायिक दृष्‍टिले मात्र नभइ भावनात्मक हिसाबले पनि विदेशका नेपाली मातृभूमिमा लागानी गर्न चाहन्छन् ।तर व्यवहारिक रुपमा कयौं अवरोध, दुरुत्साहनदेखि उपयुक्त अवसर र वातावरणको अभावमा उनीहरुको लगानी सोचेजस्तो र चाहेजस्तो हुन सकिरहेको छैन ।

बेलायतस्थित नेपालीहरुका तर्फबाट नेपालमा लगानी बढाउन तथा प्रोत्साहन गर्न सामुहिक लगानीको अवधारणा कार्यान्वयनमा लगिनेछ । लगानीको लागि आवश्यक वातावरण निर्माण, प्रक्रियागत झन्झटहरुको निराकरण र लागानीको सुरक्षा ग्यारेन्टीका लागि लन्डनस्थित नेपाली दूतावास, नेपाल सरकार र गैरआवासीय नेपाली संघ केन्द्रसहितका सरोकारवाला पक्षहरुसँग आवश्यकताअनुसार लबिङ, सहकार्य र समन्वय गरिनेछ ।

५ स्थायी कार्यालय- नेपाल हाउस

बेलायतमा बसोबास गर्ने हामी लाखौं नेपालीहरुको अभिभावक संस्थाका रुपमा रहेको गैरआवासीय नेपाली संघ बेलायतको अहिलेसम्म आफ्नै स्थायी कार्यालय समेत नहुनु पक्कै शोभनीय छैन् ।स्थायी कार्यालयको अभावमा हाम्रा नियमित कार्यहरुदेखि साधारण सदस्यहरुका सुविधाहरुसम्म प्रभावित भइरहेको महशुस हामीले गरेका छौं ।

तसर्थ, मेरो नेतृत्वले संस्थाको स्थायी कार्यलय व्यवस्था गर्नेछ । साथै, लामो समयदेखि अधुरो रहेको बेलायतवासी नेपालीको ‘नेपाल हाउस’ को सपना साकार पार्न यसअघि भएका पहलहरुलाई निरन्तरता दिने र नेपाल हाउस प्रोजेक्ट पूरा गर्नेतर्फ काम अघि बढाउनेछ ।

६ दीर्घकालिन सोच- कल्याणकारी कोष

देशविदेशका कुनै पनि नेपालीलाई आपत, विपत वा दु:खमा सहानूभूति राख्ने र सक्दो सहयोगको कोशिश् गर्ने सभ्यता हामी सबै नेपालीको पहिचान नै हो ।

विशेषत: मातृभूमिमा विभिन्न खालका विपत र समस्याहरुका बेला बेलायतवासी नेपालीका तर्फबाट एक द्वारबाटै सहायता पठाउन सके त्यसको वितरण सन्तुलित र प्रभावकारी हुन्छ भन्ने पाठ हामीलाई विगतका अनुभवहरुले सिकाएका छन् । त्यस्तै, हरेक पटक समस्या आइसकेपछि मात्रै कोष संकलन शुरु गर्ने परम्पराले आवश्यक परेको समयभित्र सहयोग पुग्न नसक्ने, सहयोगदाताहरुलाई पनि सधैं दबाब परिरहनेजस्ता समस्या उब्जिएका छन् ।

मेरो कार्यकालमा गैरआवासीय नेपाली संघ बेलायतले दीर्घकालिन सोचसहितको एक कल्याणकारी कोष स्थापना गर्नेछ । जसबाट बेलायत तथा नेपालमा समस्या, अफ्टेरोमा परी तत्काल सहयोगको आवश्यकता पर्ने नेपालीहरुलाई तुरुन्तै सहयोग पठाउन सकिनेछ । कोष अभिवृद्धिका लागि नियमित रुपमा संचालन गर्न सकिने योजना र कार्यक्रमहरु ल्याइनेछ ।

७ संस्थालाई आवश्यकता- सबैको सहभागिता

गैरआवासीय नेपाली संघको अवधारणा जति विशाल र व्यापक छ, सोहीअनुसारको सहभागिता र समावेशिता अझैसम्म पनि हासिल नभएको तथ्य हामीले स्वीकार गर्नैपर्छ ।

यो संस्था र अभियानमा महिला, युवा, ज्येष्ठ नागरिकसहित सबै उमेर, वर्ग, पेशा, क्षेत्र र समुदायको सहभागितालाई महत्वका साथ प्रोत्साहन गरिनेछ । सबै तप्का र समूहको सहभागितालाई प्रोत्साहित गर्ने खालका आकर्षक, जनकारीमूलक, सहयोगी एवम् मनोरन्जनात्मक कार्यक्रम र योजनाहरु ल्याइनेछ ।

गैरआवासीय नेपाली अभियानको मूल प्रवाहबाट छुटेका युवा, महिला, बौद्धिक व्यक्तित्व, पेशाकर्मी, विज्ञ, कलाकार, खेलाडी, संचारकर्मी, व्यवसायी, समाजसेवी आदिका लागि लाई संस्थामा स्वागतयोग्य वातावरण निर्माण गर्ने, उनीहरुको नियमित परामर्श र सल्लाह लिने गरी स्थायी संयन्त्र तयार पार्ने, उनीहरुको प्रत्यक्ष सहभागिता हुने गरी अन्तरक्रिया, गोष्ठी, छलफल लगायतका कार्यक्रम संचालन गर्ने जस्ता कार्य गरिनेछ ।

८ बेलायतका नेपाली र नेपालबीच पुल

बेलायतमा रहेको सिंगो नेपाली समुदायले आफ्नो अभिभावक ठानेको र मानेको संस्था हो गैरआवासीय नेपाली संघ बेलायत ।

मेरो अध्यक्षतामा निर्वाचित हुने कार्यसमितिले बेलायतका सम्पूर्ण नेपाली संघसंस्थासहित सिंगो नेपाली समुदाय र बेलायतस्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारसँग समन्वय र सम्पर्कका लागि पुलको भूमिका निर्वाह गर्नेछ ।

नेपाल सरकारका लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन् लगायतका योजना र कार्यक्रमलाई सफल पार्न बेलायतको सिंगो नेपाली समुदायको तर्फबाट साथ, ऐक्यबद्धता र सहभागिताका लागि पहल गरिनेछ ।

९ बेलायतमा नेपाली पहिचान- भाषा, कला, संस्कृतिको प्रवर्द्धन्

हाम्रा भाषा, कला, संस्कृति साँचो अर्थमा हाम्रो पहिचान हुन् । मौलिक पहिचानबिनाको मानिस र उसको समुदाय कल्पना गर्न समेत सकिन्न ।

हामी बेलायतमै पनि नेपाली भएर बाँच्न चाहन्छौं, हाम्रा सन्ततिहरु पनि सधैं नेपाली नै रहुन् भन्ने हाम्रो चाहना छ । तर यदी हामीले आफ्नो भाषा, कला, संस्कृति र परम्परालाई जगेर्ना गर्न सकेनौँ भने हाम्रो पहिचान बच्चाइराख्न सम्भव छैन भनेर बुझ्नु आवश्यक छ ।

तसर्थ, मेरो नेतृत्वमा गैरआवासीय नेपाली संघ बेलायतले यहाँस्थित अन्य संघसंस्था र समुदायसंगको सहकार्यमा नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजनासहित कार्यक्रमहरु आयोजना गर्नेछ ।

नयाँ पुस्तालाई नेपालसँग जोड्ने, कुलत तथा दुर्व्यसनको जोखिमबाट जोगाउने, खेलकुद तथा सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्ने आदि उद्धेश्यमा विभिन्न खेलकुद, प्रतिभा प्रदर्शन, सांस्कृतिक कार्यक्रम लगायतको आयोजना गरिनेछ ।

१० विज्ञको अनुभव र ज्ञान- नेपाल र नेपालीलाई हस्तान्तरण

पछिल्लो समय हाम्रो नेपाली समुदायका कयौं सदस्यहरु बेलायतमा मेयर, उपमेयर, काउन्सिलर लगायतका महत्वपूर्ण जिम्मेवारीमा पुग्न सफल हुनुभएको छ ।बेलायत सरकारअन्तर्गतका महत्वपूर्ण निकायहरुमा सिधा पहुंच राख्नुहुने उहाँहरुसंगको सहकार्य र समन्वयमा बेलायतस्थित हाम्रो नेपाली समुदाय र मातृभूमि नेपालको हित हुने खालका उपयोगी र लाभादायक कार्यक्रमहरु ल्याइनेछ ।

त्यसैगरी, बेलायतमै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल नेपाली समुदायका प्राध्यापक, डाक्टर, नर्स, इन्जिनियर, एकाउन्टेन्ट, व्यवसायी, विद्धार्थी लगायत सबैलाई एकत्रित गर्दै उनीहरुको सीप, ज्ञान, क्षमता र अनुभवलाई समुदाय र मातृभूमिको हितमा उपयोग गर्न सकिने व्यवस्था मिलाइनेछ ।

अन्त्यमा, पुन: एक पटक मेरो उम्मेदवारीप्रति यसरी नै आफ्नो साथ, समर्थन र ऐक्यबद्धता जनाइदिनुहुन तथा आफ्नो अमुल्य मत प्रदान गरिदिनुहुन यहाँहरु सबैमा म हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद । जय एनआरएनए !

दीपक श्रेष्ठ

अध्यक्ष उम्मेदवार

गैरआवासीय नेपाली संघ बेलायत (२०२१-२०२३ )

१३ जुलाई २०२१