४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए यूके महाधिवेशन : आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७८, आईतवार २३:४७

आर्थिक तथा वार्षिक प्रतिवेदन पास

लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनए यूके संघको अभियानमा दरिलो खम्बाको रुपमा रहेको बताए । उनले गैरआवासीय नेपाली संघ यूकेको आइतबार भर्चुअल १० औं महाधिवेशनलार्ई सम्बोधन गर्दै कोरोना महामारीका बेला बेलायतबासी नेपाली समुदायले खेलेको भूमिकाको प्रसंशा गरे ।

उनले एनआरएनए यूकेको नेतृत्व अब्बल सावित भएको बताउँदै एनआरएनए यूकेको वर्तमान कार्यमिति सफल भएको बताए । उनले आगामी दिनमा गैरआवासीय नेपालीको नागरिकता र भूपूगोर्खाको समस्यामा केन्द्रीत रहेर संघले काम गर्ने जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अधिवेशनको सफलताको शुभकामना मन्तव्य दिदैं एनआरएनए र दूतावास सहकार्य गरेर अघि बढ्ने बताए ।

उनले बेलायतको निजी क्षेत्र र सरकारका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणको लागि दूतावासले काम गरिरहेको बताए । उनले नेपालको आर्थिक विकासको लागि मुख्य अजेन्डा बनाएर काम गर्न एनआरएनएलगायत बेलायतबासी नेपालीलाई आग्रह गरे । ‘एनआरएनएको विश्वव्यापी प्रतिष्ठालाई अझ सशक्त बनाएर अघि बढ्न अनुरोध गर्छु’ उनले भने,

‘एनआरएनएले सुरुवात गरेको १० अर्बको लगानी मुलुकको आर्थिक समृद्धि र विकासको लागि कोषेढुंगा सावित हुनेछ ।’

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले एनआरएनएका स्थापना बेलायतबाटै भएको हुँदा एनआरएनए यूके विशिष्ठ राष्ट्रिय समिति भएको बताए । उनले एनआरएनए अभियानमा एनआरएनए यूकेको बिशेष भूमिका र महिमा रहेको बताए । उनले संघको अभियानमा संघले खेलेको भूमिका बिशिष्ट भएको बताउँदै एनआरएनए यूकेको प्रसंशा गरे ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले महाधिवेशनको सफलताको लागि शुभकामना दिदै संघभित्र रुपान्तरण सुरुआत भइसकेको बताए । उनले संघको नेतृत्वमा समेत नयाँ पुस्ता रहेको बेला विशेष कार्यक्रम ल्याएको बताए । चुनाव हुने बेथितिलाई समाप्त गर्न एमआइएसमार्फत् सदस्यता वितरण सुरुआत गरिएको महासचिव शर्माको भनाइ थियो । उनले संघले अघि सारेका रुपान्तरणको अभियानले ल्याएको परिवर्तनको अनुभूति हुँदै गएको बताए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद समन्वय परिषद (आइसीसी) का सदस्य भक्त गुरुङले एनआरएनए यूकेले विगत दुई वर्षमा अस्मरणीय काम गरेको वताए । उनले गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्तिको लागि सक्रिय रहेर काम गरेको बताए । उनले नेपालमा महामारीको बेला विदेशमा रहेका नेपाली एक जुट भएर एनआरएनएमार्फत स्वास्थ्य सामग्री पठाएर साझा संस्थाको रुपमा स्थापित गरेको बताए । उनले संघको निर्वाचनमा होमिएका उम्मेदवारहरुलाई आफ्नो सीमा र विधिविधानभित्र रहेर आफ्ना गतिविधि गर्न सुझाव दिए ।

आइसीसी सदस्य रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकाललाई सहज रुपमा काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले विगतमा भएका कमीकमजोरीहरुलाई आत्मसमीक्षा गरेर अघि बढ्न सुझाव दिए । संघअन्तरर्गतको गोर्खा कार्यदलका संयोजक चन्द्रबहादुर गुरुङले गैरआवासीय नेपाली संघले भूपूगोर्खाहरुको नागरिकताको निरन्तरताको लागि सक्रिय रुपमा लागेर काम गरिरहेको बताए । उनले भूपूगोर्खाहरुको लागि नागरिकताको ग्यारेन्टी गर्न संघले सरकारलाई पत्राचार गरेको बताए । उनले एनआरएनए यूकेविरुद्ध बेलायती अदालतमा मुद्दा परेपछि संस्था रहने कि नरहेन भन्ने प्रश्न उठेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य दिदैं गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अथक प्रयास गरिरहेको बताइन् । उनले गैरआवासीय नेपाली संघप्रति जनविश्वास बढ्दै गएको बताइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, महेन्द्रराज कंडेल, योगकुमार फगामी, एनआरएनएका सल्लाहकारहरु कुल आचार्य, विश्वआर्दश पण्डित, युरोप संयोजक नारायण आचार्य, प्रवक्ता डिबी क्षेत्री, सहसंयोजक कृष्ण तिमल्सिना, युवा संयोजक हिमाल गुरुङ, लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा पर्वतारोही निर्मल पूर्जालाई विशेष सम्मान गरिएको थियो ।

प्रतिवेदन सर्वसम्मतले पारित
करिब १२ घण्टा चलेको महाधिवेशनमा प्रस्तुत आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । महाधिवेशनमा संघका महासचिव फडिन्द्र भट्टराईले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तेजेन्द्र रोकाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । महाधिवेशनमा बोल्ने सदस्यहरुले संघभित्र आर्थिक पारदर्शिता र एनआरएनए यूकेबिरुद्ध बेलायती अदालतमा दायर भएको मुद्धाको बारेमा जिज्ञासा राखेका थिए ।


वार्षिक प्रतिवेदन

आर्थिक प्रतिवेदन