१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए बेल्जियमको मतगणना आजै देखी शुरु हुने

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७८, सोमबार १८:४१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा नयां नेतृत्वको लागि भएको निर्वाचनको क्रममा झडप भए पछि स्थगित मतगणना शुरु हुने भएको छ।

निर्वाचन समितिका अनुसार उम्मेदवारहरु र संघसंस्थाहरुको आपसी सहमतिका आधारमा आजै सांझ ८ बजे देखि मतगणना हुने भएको हो ।

आइतबार आन्त्र्वोपेन क्षेत्रको मतदान केन्द्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका च्यातेर बुथ कव्जा गर्दै मतपेटिकामा केमिकल हाल्ने प्रयास गरे पछि तीन जना घाइते भएका थिए ।

गैरआवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा बेल्जियमस्थित ७ वटै निर्वाचन क्षेत्रहरुमा निर्धारित समय विहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म निर्वाचन सम्पन्न भएको थियो। मतगणनाको लागि आन्त्र्वोपेन क्षेत्रमा रहेका मतपत्र अहिले लुभेनमा ल्याउने तयारी गरिएको छ । निर्वाचनको परिणाम भोलि विहान सम्म आइपुग्ने अपेक्षा गरिएको छ ।