September 19, 2021
12:52 AM | 5:37 AM
ताजा खबर

जुनसुकै सरकार आए पनि चिनियाँ नीति परिवर्तन हुँदैनः राजदूत

  30/07/2021 मा प्रकाशित

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गर्नुभयो । उहाँले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने बताउनुभयो ।

भेटको क्रममा चिनियाँ राजदुत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गर्नुुभयो । चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको बताउनुभयो ।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिनुभयो । यस्तै भूकम्पपछिको पुननिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उहाँले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिनुभयो ।

प्रतिक्रिया