१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोनोका कारण विदेशमा थप ३९ जनाको निधन

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७८, शनिबार ०९:१७

लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना इराक, र युगान्डामा १,१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।

सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म पीसीआर परिक्षणबाट ६ लाख ९३ हजार १ सय ९ जना संक्रमित पुगेका छन् । ९४.१ प्रतिशत अर्थात ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण हालसम्म ९ हजार ८ सय ३४जनाको निधन भएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।