१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए जर्मनीको अध्यक्षमा मिलन पन्त विजयी

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७८, शनिबार २२:०९

दीपक धिताल।

बर्लिन । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा मिलन राज पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २ सय ५७ मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका हुन् । पन्तले ८ सय २८ प्राप्त गरे भने राईले ५ सय ७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पन्त आफु कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको दावी गर्दै आइरहेका छन् । उनी निवर्तमान कार्यसमितिको उपाध्यक्ष समेत हुन् । उपविजेता राई पनि एनआरएनए जर्मनीको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । राईलाई नेपाली जनसम्पर्क समिति जर्मनीको संस्थापन पक्ष, नेपाली एकता मञ्चको पनि संस्थापन पक्ष, माओवादी निकट प्रवासी संगठन, विभिन्न जनजाती संघ संस्था र केही महिला अधिकारकर्मी लगायतको समर्थन रहेको भनिएको थियो । पन्तलाई भने काग्रेस र एमालेको संगठनका संस्थापन इतरका एनआरएनहरुको समर्थन थियो ।

दुई खुल्ला उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको थियो । जसमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी भएका छन् । यसअघि महासचिव रहेका ढकालले अहिले उपाध्यक्ष पदमा ७ सय ५१ मत र यसअघि सचिव रहेकी त्रिपाठीले ५ सय ८४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका हुन् । महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई प्रतिष्पर्धी राजन देवी गौतमलाई १ सय ५८ मतान्तरले हराउँदै ७ सय ३२ मतका साथ विजयी भएकी छिन् ।

महासचिव पदमा राजेश सुनार ७ सय ७५ मतका साथ विजयी भएका छन् । उनी संस्थामा यसअघिका २ कार्यकाल सचिव रहेका थिए । सुनारका प्रतिद्धन्दी सिजन दाहालले भने ५ सय ९९ मत प्राप्त गर्दै उपविजेतामा चित्त बुझाउन बाध्य भएका छन् । दाहाल नेपाली काग्रेस निकट जनसम्पर्क समितिका प्रवक्ता समेत हुन् । एनआरएनमा ३ बर्षे अनुभव पनि नभएका उनी एकैपटक स्थानीय समन्वय परिषदको सचिवबाट राष्ट्रिय समन्वय परिषदको महासचिव पदको आकांक्षी देखिएका थिए । सचिव पदमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला विजयी भएका छन् । उनीहरुले क्रमशः ९ सय ३६ मत र ५ सय ३१ मत प्राप्त गरेका छन् । दुई सचिव पदका लागि भएको निर्वाचनमा ३ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै एक अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९ सय ४३ मतका साथ शंकर डाँगी विजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी विनोद अधिकारीलाई ५ सय ७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसीसीको यात्रा तय गरेका हुन् । कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सास्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित भएका छन् । एक हजार ५ सय ९५ पंजीकृत सदस्यहरू रहेको जर्मनीमा एक हजार ४ सय ३३ जनाले विद्युतिय प्रणाली मार्फत मतदान गरेका थिए ।

कुल मतदातामध्ये ८९ दशमलब ८४ प्रतिशतले मतदानमा भाग लिएका थिए । शनिबार बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको थियो । अनलाइन भोटिङ्गको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो । स्पेनको सो कम्पनीले ३ लाख २६ हजार भन्दा बढि विद्युतिय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनिले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो । परिणामलाइ डिसी नेपालकाे फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेकाे थियाे ।

एनआरएनए जर्मनीमा कसले कति मतका साथ विजय हासिल गरे, सम्पूर्ण मतपरिणाम ।

कुल मतदाता – १५९५
मतदानमा सहभागी – १४३३
अनुपस्थित – १६२

आइसीसी पद

शंकर डाँगी – ९४३ – विजयी
विनोद अधिकारी – ३६९
खालि भोट – १२१

अध्यक्ष

मिलनराज पन्त – ८२८ – विजयी
निनम्मा राई – ५७१
खालि भोट – ३४

खुल्ला उपाध्यक्ष ( २ पद )

लोकमणी ढकाल – ७५१ – विजयी
मेनका त्रिपाठी – ५८४ – विजयी
अर्जुन ओली – २९२
शिवकला गुरुगं – २७४
तुलसी श्रेष्ठ – २७४
होम शर्मा – १५६
खालि भोट – ४५

महिला उपाध्यक्ष
करुणा तुलाधर राई – ७३२ – विजयी
राजनदेवी गौतम – ५७४
खालि भोट – १२७

महासचिव
राजेश सुनार – ७७५ – विजयी
सिजन दाहाल – ५९९
खालि भोट –५९

सचिव ( २ पद )
निमा राजभण्डारी अर्याल – ९३६ – विजयी
सुजन बर्तौला – ५३१ – विजयी
युवराज अधिकारी – ५११
खालि भोट – ९८

हामवर्गबाट केन्द्रिय सदस्य ( २ पद )
मिरा कार्की – २३१ – विजयी
प्रशान्त पोखरेल – १५५ – विजयी
सञ्जय महर्जन – ५५
खालि भोट – १८

( एलसीसी कुल मतदाता संख्या – ४४१
मतदानमा सहभागी –३०३ )

निर्विरोध निर्वाचित
कोषाध्यक्ष – भरत कुमार चलाउने
युवा संयोजक – सुदिप सापकोटा
सास्कृतिक संयोजक – लक्ष्मण जोशी
भाषा तथा बालबालिका संयोजक – मिरा पौडेल
महिला संयोजक – सोनी तुलाचन