४ बैशाख २०८१, मंगलवार
Follow Us

माग पुरा नभए प्रेमगाहा मगर समुहले एनआरएन यूकेको निर्वाचन बहिष्कार गर्ने (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७८, आईतवार १८:५७


आइतबार मध्यरातसम्म माग पुरा नभए चुनाव छोड्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रत्यासी प्रेम गाहामगरले निर्वाचन वहिष्कार गर्ने निष्कर्षमा पुगेका छन् । निर्वाचन समितिको कार्यशैलीप्रति रोष प्रकट गर्दै गाहामगरले आफ्ना केही माग सुनिश्चित नगरिए निर्वाचनमा भाग नलिने चेतावनी दिएको उनलाई जिताउने अभियानमा संलग्न व्यक्तिहरुले जनाएका छन् ।

समावेशी समूहले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गाहामगरको समर्थनमा गठित एनआरएनए यूके पूर्व अध्यक्ष एवं समावेशी समूहका संयोजक शेरबहादुर सुनारले सोमबार मध्यान्ह निर्वाचन कार्यक्रम शुरु हुनु अघि निर्वाचन समितिले ब्रिटिश कम्पनीलाई पठाएको अन्तिम मतदाता नामावली र इमेल उम्मेदवारलाई उपलब्ध गराउन, आइतबार १२ बजे अगावै टेष्ट मेल पठाउने कार्य सुनिश्चित गर्न, अगष्ट ३ तारिख मतदान सकिनासाथ नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दै उल्लेखित माग कार्यान्वयन नभए गाहामगरले निर्वाचन छाड्ने दावी गरे ।
गैर आवासीय नेपाली संघको विधान २००३ र २०२१ को संशोधनसहित दफा २४। १ मा राष्ट्रिय समन्वय परिषदको निर्वाचन १ जुलाईदेखि ३१ जुलाइसम्म अनिवार्य गर्नुपर्ने भएपनि सो विधान विपरित आइसीसी र उम्मेदवारहरुलाई समेत जानकारी नदिइ निर्वाचन सारिनु योजनावद्ध रुपमा गरिएको षडयन्त्र भन्दै सुनारले यसको सम्पूर्ण नैतिक जिम्मेवारी प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेलले लिनु पर्ने माग गर्दै यथास्थितिमा चुनावमा सहभागी हुन असमर्थ हुने चेतावनी दिए ।

३१ जुलाइमा हुनुपर्ने निर्वाचन कसैसंग सल्लाह नै नगरि निर्वाचन प्रमुख आयुक्तले स्थगित गर्नु गैर जिम्मेवार क्रियाकलाप भएको र यसले थप आशंका एवं भ्रम उत्पन्न गरेको सुनारको धारणा छ । ‘हामी हाम्रा माग नसुनिए जस्तो सुकै कदम चाल्न वाध्य हुनेछौ’, उनले पत्रकार सम्मेलनमा भने ।

निर्वाचन समितिको गतिविधि ज्यादै दुःखद बन्दै गइरहेको उल्लेख गर्दै सुनारले पहिलोपटक अनलाइनमार्फत हुन गइरहेको चुनाव स्वतन्त्र, निष्पक्ष र धाधलीरहित हुनेमा गम्भीर आशंका भएको जिकिर पनि गरेका छन् ।