७ बैशाख २०८१, शुक्रबार
Follow Us

शीतल निवासमा जन्ती भित्रियो

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार ०५:५२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमको आज विवाह भइरहेको छ । राष्ट्रपति भवन शितल निवासमा अभिशेष यादवसँग उनको विवाह भइरहेको हो । अभिशेष पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाती हुन् ।
पूर्वराष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका छोरा अभिशेष ५१ जना जन्तीसहित राष्ट्रपति निवासमा पुगेका छन् । समाज सुधार ऐनअनुसार ५१ जनाभन्दा बढी जन्ती नल्याउन राष्ट्रपति कार्यालयले दुलहा पक्षलाई आग्रह गरेको थियो । त्यसमा ब्यान्डबाजाको संख्या भने समावेश गरिएको छैन ।
हिन्दू विधिअनुसार सम्पन्न हुने विवाहमा कन्यादान र गोडाधुने कार्यक्रम भने राखिएको छैन ।
जन्ती र घरपक्ष गरी करिब एक हजार ५ सय जना वैवाहिक समारोहमा सहभागी हुने अनुमान गरिएको छ । सहभागीका लागि दिवा भोजको व्यवस्था गरिएको छ । वैवाहिक कार्यक्रम र दिवाभोजमा विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।
निशाकुसुम र अभिशेष बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी भएको बताइएको छ । उनीहरुबीच सात वर्ष लामो प्रेमसम्बन्ध विवाहमा परिणत भएको हो । विवाहका लागि राष्ट्रपति भवनलाई दुलही झैं सिंगारिएको छ ।