८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा कोरोनाबाट मृत्यु हुने संख्या फेरि बढ्यो

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७८, बुधबार १४:२१

बेलायत । कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो । यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८ सय ८१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको छ । यसबाट संक्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६ सय ९१ जना संक्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो । यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएको समाचारमा जनाइएको छ ।