४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए यूके निर्वाचनमा एक हजार भोट गैर कानूनी खसेको भन्दै बदर गर्न माग

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७८, बुधबार २२:००

लन्डन । एनआरएनए यूके निर्वाचनमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको जिकिर गर्दै अध्यक्ष प्रत्यासी रोजिनाप्रधान राईले त्यसलाई मान्यता नदिन आव्हान गरेकी छन् ।

बुधबार राती एक पत्रकार सम्मेलन गर्दै राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको प्रष्ट पारेको बताइन् ।

च्वाइस भोटिङले ती मतदाताहरुको फोटो परिचयपत्र समेत प्रमाणीकरणका लागि माग गरेको कुरा जानकारीमा आएको बताउंदै फर्जी मतकै आधारमा निर्वाचन परिणामा घोषणा गरिए कानूनी उपचार खोज्ने चेतावनी दिएकी छन् । ‘म चुनाव जितिनेमा विश्वस्त छु । तर गैर कानूनी मत बदर हुनुपर्छ भन्ने मेरो अडान हो’, उनले भनिन् ।

‘यसअघि निर्वाचन समितिले दिएको जानकारी र च्वाइस भोटिङको भनाई अनुसार निर्वाचन परिणामको पहिलो ड्राफ्ट आज (बुधवार) सांझ सम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने थियो । तर, निर्वाचनको परिणामलाई उल्टाउने, प्रकृयालाई समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको छ’, उनले आफ्नो विज्ञप्तिमा भनेकी छन् ।

बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासंग जोडिएको यती संवेदनशील विषयमा भएको ढिला सुस्तीले संघको छवीमा समेत प्रत्यक्ष असर पार्ने निश्चित रहेको जनाउंदै अध्यक्ष प्रत्यासी राईले संघको छवी कुनै पनि हालतमा धमिल्याउन दिन नहुनेमा जोड दिएकी छन् ।

पत्रकार सम्मेलनमा रोजिनाको तर्फबाट आइटी विज्ञ इन्जिनियर संयुक्त श्रेष्ठले अनलाइन चुनाव गराएको भेन्डर च्वाइस भोटिङले समेत फर्जी भएको भनेर निर्वाचन समितिसंग सुझाव मागेको अवस्थामा बेलायतका समस्त नेपालीको भावनामा चोट पुग्ने खालको कदम नचाल्न निर्वाचन समितिलाई चेतावनी दिए ।

उक्त कार्यक्रम महासचिवका प्रत्यासी डा. मुकुन्द बास्तोलाले सञ्चालन गरेका थिए । सो अवसरमा अध्यक्ष प्रत्यासी राई, बास्तोला र श्रेष्ठले पत्रकारहरुका जिज्ञासा मेटाएका थिए ।

विज्ञप्तिको पूर्णपाठ

आदरणीय पत्रकार साथीहरु

सर्वप्रथम छोटो सूचनाका आधारमा पनि यो पत्रकार सम्मेलनमा उपस्थित भइदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सोमबार सम्पन्न निर्वाचनको नतिजा सम्वन्धमा बेलायतस्थित नेपाली समुदायले देखाउनु भएको चासोप्रति मेरो ध्यानार्कषण भएको छ ।

बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासंग जोडिएको यति संवेदनशील विषयमा भएको ढिलासुस्तीले संघको छवीमा समेत प्रत्यक्ष असर पार्ने निश्चित छ । हामीले संघको छवीलाई कुनै पनि हालतमा धमिल्याउन दिनु हुंदैन् ।

निर्वाचन प्रकृयाको जिम्मेवारी लिएको बेलायतस्थित भेण्डर च्वाइस भोटिङले दिएको शर्त, निर्वाचन नियमावली र संघको विधान पालना गर्दै हामी निर्वाचमा होमिएका थियौं।

यसअघि निर्वाचन समितिले दिएको जानकारी र च्वाइस भोटिङको भनाई अनुसार निर्वाचन परिणामको पहिलो ड्राफ्ट आज (बुधवार) सांझ सम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने थियो । तर, निर्वाचन परिणामलाई उल्टाउने, प्रकृयालाई समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको छ ।

यसैबीच चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको प्रष्ट पारेको छ ।

यस्तै च्वाइस भोटिङले ती मतदाताहरुको फोटो परिचयपत्र समेत माग गरेको छ । च्वाइस भोटिङको पछिल्लो पत्रले निर्वाचनमा ठूलो धांधली र अनियमितता भएको संकेत गरेको छ ।

म आफैं संघको अध्यक्षको उम्मेदवार भएको नाताले त्यस्ता अनियमित कामको घोर निन्दा गर्दछु । निर्वाचनका क्रममा मैले मतदाताबाट प्राप्त गरेको माया, ममताले परिणाम मेरै पक्षमा आउनेमा विश्वस्त छु । तर परिणामलाई जस्तो प्रभाव पारे पनि त्यस्तै गैरकानूनी मत बदर हुनु पर्छ भन्ने मेरो अडान छ ।

निर्वाचनमा गैरकानूनी रुपमा अस्वभाविक मतहरु तत्काल बदर गर्न आग्रह गर्दछु । गैरकानुनी रुपमा भएका मतहरु बदर नगरि निर्वाचन परिणाम सार्वजनिक गरिए अन्य मतदाताहरु माथि ठूलो अन्याय हुने तर्फ सबैको ध्यानार्कषण गर्दछु ।

साथै, बेलायती संघको विधान र बेलायती कानून विपरीत कुनै पनि अप्रिय निर्णय भएमा कानूनी उपचार खोज्ने चेतावनी दिन चाहन्छु ।

रोजिना प्रधान राई,

अध्यक्ष, प्रत्यासी

गैरआवासीय नेपाली संघ यूके