११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए यूकेको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७८, मंगलवार २२:४३

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूकेको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । गत शुक्रबार निर्वाचित भएको नयाँ कार्यसमितिले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका हुन् ।

मत परिणामअनुसार एनआरएनए एनसीसी यूकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् । गाहा मगरको नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलले आइतबार साँझ बेलायत अल्डरसटमा आयोजित एक समारोहबीच शपथग्रहण गराएका हुन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदका साथै चार वटै राज्य समन्वय परिषदका पदाधिकारीले पनि शपथ लिए । सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सो समारोहमा राजदूत रेग्मीले नेपाल–यूके सम्बन्ध विस्तारमा एनआरएनएसँग मिलेर काम गर्ने बताएका छन् ।

त्यस्तै, नवनिर्वाचित अध्यक्ष मगरले एनआरएनएको उद्देश्य अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एनआरएनएको संस्थागत विकासका लागि सबै पक्षलाई समेटेर अघि बढ्ने उनले बताए ।

शपथ ग्रहण कार्यक्रममा एनआरएनए केन्द्रका पूर्वाउपाध्यक्ष एवं आइसिसी सल्लाहकार कुल आचार्य, एनआरएनए युकेका निवर्तमान अध्यक्ष पुनम गुरुङलगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामनासहित बधाइ ज्ञापन गरेका थिए ।

एनआरएनए यूकेका पूर्वउपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार रोजिना प्रधान राईले पनि शुभकामना व्यक्त गरेकी थिइन् । सोही अवसरमा संस्थाका पूर्वउपाध्यक्ष शेर सुनारलाई प्रमुख संरक्षकसमेत घोषित गरिएको बताइएको छ ।