१३ बैशाख २०८१, बिहीबार
Follow Us

१० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल यूएसए २०२१ आयोजना गरिने

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७८, मंगलवार २२:४७

वाशिङ्गटन डिसी । मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह भव्य रुपमा मनाइने भएको हो ।

नेपालकी चर्चित सञ्चारकर्मी, अभिनेत्री, प्रस्तोता, समाजसेवी साथै मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ । सुब्बालाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नमा सघाउनेछन् ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सकिने बताइएको छ । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १ सम्म रहेको छ ।

नेपाली−अमेरिकी सामाजिक उद्यमी अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजाँगर गरेको छ ।

मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर्स बराबरको सहयोग प्रदान गरिसकेको छ । त्यसैले पनि यस कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्याउने अवसर जुटाइदिएको छ ।

मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् ।

पहिलो संस्करणदेखि नै अन्तर्राष्ट्रिय र स्थानीय मिडियाहरुको राम्रो कभरेज पाइरहेको यस कार्यक्रमलाई न्यू योर्क, भर्जिनिया, नेब्रास्का लगायत प्रदेशका गर्भनर, यूएस राजदूतावास लगायत संस्थाले आधिकारिक मान्यता समेत प्रदान गरेका छन् ।

भोलिका दिनमा आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।