१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिका र क्यानडामा रहेका २ सय २१ नेपाली स्रष्टाका कविता एकै पुस्तकमा

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७८, मंगलवार २३:३७

काठमाडौँ — विश्वमा छरिएर बसेका नेपाली कवि–स्रष्टाका सिर्जनालाई संग्रहका रूपमा निकाल्ने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ कृति प्रकाशनमा ल्याएको छ ।

रोजीरोटी, शिक्षादीक्षा वा अन्य कारणले आप्रवासनमा पुगेका अमेरिका र क्यानडास्थित नेपालीले साहित्य सिर्जनामार्फत मातृभूमिको स्मरण गरेको यो कृतिमा २ सय २१ कविका रचना समेटिएको छ । कृतिका सम्पादक कृसु क्षेत्रीका बुझाइमा कविताको बहुलतामय परिदृश्य र बहुल स्वर समेटिने गरी डायस्पोरिक विम्ब र चेतनाका कविता यो संग्रहमा समेटिएका छन् । ‘आफ्नो मातृभूमि, मातृभूमीको राजनीतिक अस्थिरता, लामो समयसम्म चलेको द्वन्द्व, बेरोजगारी, गरिबीजस्ता जुनसुकै कारणबाट परदेसिएका भए पनि नेपालीहरूले प्रवासमा आफ्नो भाषा–साहित्य, संस्कृति, रीतितिथि, परम्पराहरू भुलेको देखिादैन । साथै आफ्नो भाषा र साहित्यको स्मरण गर्ने सदिच्छाले नेपालीहरू जहाा पुगेपनि कविता–साहित्य लेखनमा सिर्जनशील बनिरहेकै हुन्छन्,’ सम्पादक क्षेत्री भन्छन् ।

यो संग्रहमा क्यानडाबाट शर्मिला पोखरेल, सृजना आचार्य लम्साल, हरिराज न्यौपाने, हरि शिवाकोटी, शरद सुब्बा, अनमोलमणि, एनपी खार्पाली, अरुण श्रेष्ठ, अनिल पौड्याल, अनुजा घिमिरे, डा.गोविन्द रावतका रचना समेटिएका छन् । त्यस्तै व्याकुल पाठक, किसनसिंह धामी, हरि अधिकारी, कृष्ण धरावासी, कृष्ण शाह यात्री, कृष्णमुरारि ढुंगेल, अमोद भट्टराई, शिवप्रकाश, राजेश मिश्र, नीलम कार्की निहारिका, भारती गौतम, गोवद्र्धन पूजा, शैलेश आचार्य, प्रदीप भट्टराई, कमला स्वरुप, गगन विरही, राजव, हिरण्य भोजपुरे, सीता पाण्डे, होमनाथ सुवेदी, गोविन्द गिरी प्रेरणाका कविता उक्त कृतिमा छन् ।

यसअघि पनि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘नेपाली डायस्पोराका नारी कथाकार र कथा’, ‘नेपाली डायस्पोराका कविता’, ‘डायस्पोरा : सिद्धान्त र समालोचना’, ‘अन्तरदेशीय नेपाली कथाहरू’ जस्ता प्रवास र प्रवासी सन्दर्भका साहित्यिक कृति प्रकाशित गरिसकेको छ । ‘अहिले प्रकाशनमा आएको ‘उत्तर अमेरिकी नेपाली कविता’ संग्रहमा मूलत: डायस्पोरिक कविता रहेका छन् । डायस्पोरिक कवितामा एकातिर घरदेशको चिन्ता र अर्कातिर परदेशमा रहादाको पीडा व्यक्त भएको हुन्छ,’ प्रतिष्ठानका साहित्य विभाग प्रमुख हेमनाथ पौडेलले कविता संग्रह संयोजकका रूपमा टिपोट लेखेका छन् ।