१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए सचिवमा सिम्खडाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार १८:५३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा सचिव पदमा बेलायतस्थित एक सकृय अभियान्ताले उम्मेदवारी दिने भएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेका संस्थापक सदस्य रामशरण सिम्खडाले संघको सचिव पदमा उम्मेदवारी दिने भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका सिम्खडा संघको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक हुन् ।

सिम्खडाले गैरआवासीय नेपाली संघमा सुधारका कामको सुरुआत भइसके बताउँदै संस्थागतको स्थायित्व र विकासको लागि आफ्नो उम्मेदवारी रहने बताए । उनले संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा पुगेको बताए ।

धादिङमा जन्मिएका सिम्खडासंग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ । उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र नेपाल जेसिसको केन्द्रीय प्रशिक्षकको समेत जिम्मेवारी समालिसकेका छन् ।

बेलायतमा सन् २००१ मा भित्रिएका सिम्खडाकै सकृयतामा सन् २००५ मा गैरआवासीय नेपाली संघको स्थापना भएको हो ।

उनले संघभित्र दुई कार्यकाल आइसीसी सदस्य, पटक पटक गरेर विधान समिति संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी सफतापूर्वक पूरा गरेका छन् । उनीले सन् २०११ को एनआरएनए युकेको निर्वाचमा भारी मतान्तरले महासचिव पदमा विजयी भएका थिए ।

बेलायतस्थित रेडिङ विश्वविधालयमा कार्यरत सिम्खडाले नेपालमा हाईड्रो, वैकिङ क्षेत्रमा समेत लगानी गरेका छन् । सिम्खडा एक अब्बल संगठक तथा संस्थाका अन्तरिक विषयमामिला दखल राख्ने एनआरएनए अभियानताका रुपमा परिचित छन् ।