७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचनमा आचार्य समूह प्यानलसहित मैदानमा

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार १९:१६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने १० औं महाधिवेशनमा अध्यक्षका पराजित प्रत्यासी कुल आचार्य समूहले छुट्टै प्यानलसहित निर्वाचनमा जाने तयारी गरेको छ ।

प्रजातन्त्रवादी एनआरएन अभियन्ताहरुको विश्वव्यापी भेलाको संज्ञा दिएको जुम बैठकले गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्षमा संघका सल्लाहकार कुल आचार्यलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागीमध्येका एक जनसम्पर्क समिति अमेरिकाका पूर्वसभापति विष्णु सुवेदीले कुल आचार्यले आफुले उम्मेदवारी दिने घोषणापछि कसरी अघि बढ्ने भन्ने वारेमा छलफल भएको बताए । सुवेदीले जनसम्पर्क समितिभित्र विभिन्न देशमा विवाद रहेको हुदाँ पहिला विवाद अन्त्य गर्न सुझाव दिएका थिए । उनले उम्मेदवार मात्र बनेर अघि बढ्न आत्मघाती हुने भन्दै निर्वाचन जित्ने सुनिश्चिता हुनुपर्ने बैठकमा जोड दिए ।

बैठकमा एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डितले संयोजन गरेको उक्त बैठकमा दिल बहादुर गुरुङ (जर्मनी), विश्वआदर्श पण्डित (युके) जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, बिष्णु सुवेदी, दुर्गा आचार्य (अस्ट्रेलिया), हिक्मत थापा (अफ्रीका) तथा नरेन्द्र भाट (कतार) सहभागी थिए ।


यस्तो छ आचार्य समूहको प्यालन

बैठकमा सहभागीमध्ये एकका अनुसार बैठकमा पदीय भाग बण्डाको विषयमा समेत व्यापक छलफल भएको थियो । नेपाली कांग्रेस आबद्ध उम्मेदवारलाई मात्र राखेर एकल प्यानल बनाउने वा अन्य दलिय भाग बण्डा गर्ने भन्ने बिषयमा सहभागीहरुबीच मतभेद देखिएको थियो ।

बैठकले आचार्यको समुहको लागि प्रराम्भिक नामवली तयार गरेको बताएको छ । संघका ४ उपाध्यक्ष पदमा आरके शर्मा, त्रिलोक गुरुङ, हिक्मत थापा र महिला उपाध्यक्षमा जानकी गुरुङसहितको नाममा छलफल भएको थियो । शर्मा यसअघि कुमार पन्तको टिमबाट उम्मेदवार बनेका हुन् तर आगामी निर्वाचनकाबारेमा मुख खोलका छैन् । आचार्यले महासचिवमा डा. केशव पौडेलको नाम अघि सारेका छन् । पौडेल नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् । उनलाई अमेरिकबाटै वर्तमान सचिव गौरीराज जोशीले टक्कर दिने तयारीमा छन् ।

तीन सचिवमा आचार्य समूहले नारायण आचार्य, खगेन्द्र न्यौपाने र प्रविण गुरुङको नाम अघि सारेको छ । महिला सचिवमा भूमा लिम्बुको नाम चर्चामा छ । कोषाध्यक्ष पदमा आचार्य समूहले वर्तमान सहकोषाध्यक्ष लोक दाहाललाई मनाउने प्रयास गरे पनि दाहालले यस अघिनै अध्यक्षका प्रत्यासी डा. बद्री केसीको प्यानलबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

संघको युरोप संयोजकमा वर्तमान सहसंयोजक शुक्रराज न्यौपानेको सट्ट आइसीसी सदस्य चिन्तामणी सापकोटालाई अघि सरेपछि सो समूहमा विवाद सुरु भएका छ ।

न्यौपानेलाई हटाएर सापकोटालाई अघि सारेपछि एनआरएनए यूरोप संयोजक नारायण आचार्य समेत विवादमा मुछिएका छन् । आचार्य समूहले केही पदमा उम्मेदवार नपाएर विकल्पको बारेमा छलफल चलाएको बताएको छ ।