१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार २०:२९

कोभिड–१९ महामारीका बीच जापानले हालै मात्र टोकियो ओलम्पिक २०२० को सफलतापूर्वक सम्पन्न गर्‍यो। अब सारा विश्वको नजर ओलम्पिकबाट सन् २०२२ को कतार विश्वकपतर्फ मोडिएको छ। टोकियो ओलम्पिकमा सबैको ध्यान कोभिड–१९ संक्रमणबाट सम्पूर्ण सहभागीको सुरक्षाका साथै जापानी नागरिकको स्वास्थ सुरक्षा पनि थियो। कतार विश्वकप २०२२ मा भने कोभिड–१९ संक्रमणका लागि पालना गरिने स्वास्थ्य मापदण्ड साथै मानव अधिकारप्रति पनि चासोका विषय बन्नेछ। टोकियोमा स्वास्थ्य संकटकाल जारी रहँदा जापानले विनादर्शक ओलम्पिक सम्पन्न गर्‍यो। ओलम्पिक भिलेजमा समेत सीमित खेलाडी र पदाधिकारीमा कोभिड–१९ संक्रमण पुष्टि भए पनि त्यसअघि दाबी गरिएका जस्तो हटस्पट भने बनेन। जापानले टोकियो ओलम्पिक २०२० बन्द रंगशालामा सम्पन्न गर्‍यो। तर, कतारले भने सबै रंगशालाहरूमा पूर्ण क्षमताअनुसार दर्शक प्रवेश गराउने दाबी गर्दै आएको छ।

कतार विश्वकप २०२२ नोभेम्बर १८ देखि डिसेम्बर २१ सम्म आयोजना हुने तालिका रहेको छ। कोभिड–१९ महामारीकै बीच सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० मा समेत सीमित दर्शक प्रवेशको अनुमति दिइएको थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

कतारले सामान्य अवस्थाको जस्तै विश्वकप आयोजना गर्ने दाबी गरिरहेको छ। त्यसका लागि कतारले विश्वकप अवलोकन गर्न आउने सम्पूर्ण दर्शकलाई अनिवार्य रूपमा कोभिड–१९ विरुद्धको खोप लगाउनसमेत अपिल गरिसकेको छ। ‘परिस्थिति जे जस्तो भए पनि हामी विश्वकप २०२२ आयोजनाको समयमा रंगशालामा पूर्ण क्षमताको दर्शक उपस्थित हुनेमा विश्वस्त छाैँ । जसमा विदेशी समर्थक पनि समावेश हुनेछन्,’कतारको जर्जटाउन विश्वविद्यालयका एसोसिएट प्राध्यापक ड्यानियल रिचेले भने, ‘हामीले महामारीका बीचमा पनि धेरै कार्यक्रम सन्पन्न गरिसकेका छौं।’ विश्वकप फुटबल आयोजना गर्ने कतार पहिलो मध्य पूर्वी एसियाली राष्ट्र हो।

त्यसैले विश्वकप २०२२ को सफल आयोजनाका लागि कतार जुनसुकै मूल्य चुुकाउन पनि तयार छ। कतारले विश्वकप दौरान कोभिड–१९ विरुद्धको खोप नलगाएका करिब १० लाख समर्थकलाई खोपको व्यवस्था गरिनेसमेत दाबी गरेको छ। कतार विश्वकप २०२२ का आयोजक कमिटीका सदस्यहरू हालै मात्र टोकियो ओलम्पिक २०२० मा अपनाएको स्वास्थ्य मापदण्डको अवलोकन गर्न जापान नै पुगेका थिए। ‘टोकियो ओलम्पिकले आफूलाई प्रमाणित गरिसकेको छ,’ फ्रान्सको इमिलयोन बिजनेस स्कुलअन्तर्गत युरोपियन स्पोटर््स सेन्टरका निर्देशक सिमोन चाडविकले भने, ‘आशा छ, कतारले पनि स्वास्थ्य मापदण्डको पालनाको सुनिश्चितताका साथ विश्वकप आयोजना गर्नेछ। सबैभन्दा चासोले हेरिएको विषय नै समर्थकलाई मैदान प्रवेशमा अनुमति दिइनेछ वा छैन भन्नेमा छ।’

कतार विश्वकप २०२२ को आयोजनाका लागि अब मात्र १६ महिना बाँकी रहँदा कतारले रंगशालाका साथै सडक निर्माणको कार्यलाई तीव्रता दिइरहेको छ। कतारका अमिर शेख तमिम बिन हामाद अल–थानीले कोभिड–१९ महामारीका कारण केही पूर्वाधार निर्माणको कार्य ढिलाइ भए पनि त्यसले प्रतियोगिता आयोजनामा कुनै असर नगर्ने दाबी गरेका थिए। ‘अबको केही महिनामै प्रतियोगिताका लागि आवश्यक पूर्वाधारका कामहरू सम्पन्न भइसक्नेछन्,’अल–थानीको दाबी थियो। कतारलाई विश्वकप २०२२ को आयोजना अधिकार प्रदान गरेसँगै त्यहाँ भएका मानवअधिकार उल्लंघनका घटनालाई लिएर पटकपटक आलोचना हुँदै आएको छ। तर, कतारले आफूमाथि लगाएको आरोपबारे खण्डन गर्दै आफूहरू मानव अधिकार र श्रम अधिकारको पूर्ण रूपमा पालन गर्ने जनाउँदै आएको छ।