६ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा अनसन स्थलमा पुग्यो एनआरएन यूकेको टोली

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार २०:५३

लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले समानताको माग गर्दै लण्डनमा गरेको आमरण अनसनमा गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले ऐक्यबद्धता जनाएको छ ।

एनसीसी यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको एक प्रतिनिधि मण्डल अनसनस्थल पुगी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

ऐक्यबद्धता जनाउन एनसीसी यूकेका नवनिर्वाचित महासचिव खुशी लिम्बु, आइसीसी सदस्य समीर खनाल लगायत अन्य पदाधिकारीहरु अनसनस्थल पुगेका थिए ।

ब्रिटिश आर्मी सरह नै भूतपूर्व गोर्खा सैनिकहरुले पनि सुविधा पाउनुपर्ने माग गर्दै गत शनिबार देखि ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घले ब्रिटिश प्रधानमन्त्रीको कार्यालय नजिकै आमरण अनसन गरिरहेका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नवनिर्वाचित अध्यक्ष गाहा मगरले कूटनीतिक माध्यमबाट वार्ताद्वारा नै यो समस्या समाधान हुनुपर्ने बताए । उनले गोर्खा समस्याको दिगो समाधानका लागि आफूले निरन्तर पहल गरिरहेको पनि स्पष्ट पारे ।

‘मैले नेपाल सरकारसंग गोर्खा समस्याको दीगो समाधानका लागि पहल गरिरहेको छु । कूटनीतिक माध्यमबाट वार्ताद्वारा यो समस्याको समाधान हुनु पर्छ भन्नेमा हामी दृढ छौं । एनआरएनए युकेको पनि त्यही धारणा हो,’ उनले भने ।

यसअघिको कार्यकालमा उपाध्यक्ष रहेका गाहा मगरले गोर्खा विभागको प्रामुखको रुपमा ५ ओटा गोर्खा संस्थाहरुलाई संगै ल्याएर ब्रिटिश प्रधानमन्त्री र नेपाल सरकारलाई पत्र लेखेका थिए । उनले ब्रिटिश सरकारले पत्रको जवाफ दिएपनि नेपाल सरकारबाट कुनै जवाफ नआएको जानकारी दिए ।

‘ब्रिटिश सरकारसंग सम्पर्क गरेर तत्काल वार्ता समिति गठन गर्न, वार्ताको ठाउँ र मिति तोक्न म नेपाल सरकारलाई आग्रह गर्दछु’- उनले भने ।

अध्यक्ष गाहा मगरले विश्वव्यापी कोभिड महामारीका कारण आन्दोलनमा लचकता अपनाउन संघर्ष समिति र अनसनकारीहरुलाई आग्रह पनि गरे ।

प्रहरीले हटाउन खोजेकामा आपत्ति

अध्यक्ष गाहा मगरले अनसनकारीहरु बसेको स्थानमा टाँगिएको टेन्ट ब्रिटिश प्रहरीले हटाउन खोजेकोप्रति आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण विरोध जनाई रहेका गोर्खा अभियन्ताहरुलाई हटाउन खोज्नु निन्दनीय छ । बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा शान्तिपूर्ण विरोध जनाउन पाउने मौलिक अधिकार हो । यस्तो अधिकारको सम्मान गर्न म ब्रिटिश सरकार र मेट्रोपोलिटन प्रहरीलाई आग्रह गर्दछु,’ उनले भने ।

आफू पनि एक भूतपूर्व गोर्खा सैनिक रहेको बताउँदै गाहा मगरले गोर्खा समस्यालाई आफूले नजिकैबाट बुझेको बताए । ‘समस्याको दीगो र सर्वसम्मत समाधान नभएसम्म म यो अभियानमा तपाईंहरु संगै छु, लागिरहने छु’ उनले भने ।

सो अवसरमा महासचिव लिम्बूले पनि भूतपूर्व गोर्खा सैनिकहरुको मागप्रति एनसीसी यूकेको पूर्ण ऐक्यबद्धता रहेको बताएका थिए ।