१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती प्रधानमन्त्री निवासबाहिर भूतपूर्व गोर्खा र प्रहरीबीच भिडन्त

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार २२:१८

लन्डन । लन्डनमा भूतपूर्व गोर्खाले आमरण अनसन बसेको स्थलमा बेलायती प्रहरीले हस्तक्षेप गरेको छ । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास बाहिर आमरण अनसनमा बसेका गोर्खाहरुको त्रिपाल प्रहरीले हटाएको छ ।

मंगलबार बिहान अनसनस्थल पुगेको प्रहरीले बेलायती कानूनअनुसार उक्त स्थानमा त्रिपाल लगाउन नपाइने भएकाले हटाइएको बताएको छ ।

सुरुमा प्रहरीले त्रिपाल हटाउन खोज्दा गोर्खाहरुले रोक्न खोजे पनि प्रहरी पछि हटेन । आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले त्रिपाल हटाउंदै गरेका प्रहरी अधिकृतहरुलाई ‘हामीले २ सय ७ वर्षदेखि तिमीहरुको देशका लागि लड्दै आएको बदलामा यही पुरस्कार दिएको हो ? भनी प्रश्न गरेका थिए ।

गोर्खाहरुले भने कानूनको वहाना बनाएर त्रिपाल हटाइनुलाई आफूहरुको अनसन बिथोल्ने षड्यन्त्रका रुपमा बुझेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले अब बेलायत सरकारले विभिन्न वहानामा क्रमिक रुपमा अनसन बिथोल्न कोशिश गर्न सक्ने बताए ।

समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्प घले राणासहितका तीन अभियन्ता गतशनिबारदेखि आमरण अनसनमा बसेका छन् ।