८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचनः अस्ट्रेलियामा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, केन्द्रमा उजुरी

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७८, बिहीबार ०२:४१

हेमन्त काफ्ले । सिड्नी ।यतिबेला गैर आवासीय नेपाली संघ (एनआरएन) चुनावको सरगर्मी बढेको छ। गैरआवासीय नेपाली संघको आगामी अक्टोबर २३–२५ मा १० औं एनआरएन ग्लोबल सम्मेलन हुँदैछ।

अनलाइनमार्फत हुने ग्लोबल सम्मेलनका लागि संसारबाट महाधिवेशन प्रतिनिधि छनोट हुने क्रम जारी छ।

सबै मुलुकका एनआरएनएले यही अगष्ट १५ तारिखसम्म सहभागि प्रतिनिधिको अन्तिम नामावली पठाइसक्नुपर्ने मिति तोकिएको छ। तर एनआरएन अस्ट्रेलियाले भने सो प्रतिनिधि छनोट अन्तर्गत २५ प्रतिशत सदस्यका लागि १५ तारिखमा आईसिसीको विधान विपरित निर्वाचन गर्ने भएको छ।

एनआरएनको नयाँ विधान बमोजिम कार्यसमितिले ६५ प्रतिशत मतदाता पदीय वरियताक्रम अनुरूप छान्ने,२५ प्रतिशत निर्वाचन पद्धतीबाट ल्याउने र १० प्रतिशत समाज र एनआरएन अभियानमा अग्रपंक्तीमा रहेकाबाट मनोनित गर्ने रहेको छ।

यसैबीच एनआरएन अस्ट्रेलियाले भने ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाइसकेको छ। तर त्यसमा पनि केही प्रकृयागत त्रूटि छन् भने २५ प्रतिशतको सवालमा आईसीसीको निर्देशन विपरित आफैंले निर्वाचन गराउने भएको छ।

कुल १ सय ८० जना महाधिवेशन प्रतिनिधि रहने अस्ट्रेलियाले हाल नयाँ विधान बमोजिम प्रकाशित गरेको १ सय १६ जनाको नामावलीमासमेत वर्तमान केन्द्रीय सदस्यलाई स्थान दिइएको छैन। वरियताक्रम मिचेर पूर्व अनि पुरानालाई प्रतिनिधि चयन गरिएको आरोप लागेको छ।

‘म अहिलेको कार्यसमिति सदस्य हुँ, मलाईसमेत महाधिवेशन प्रतिनिधिमा छानिएको छैन, यो सरासर पूर्वाग्रह हो’, एडिलेडकी एनआरएन अस्ट्रेलिया कार्यसमिति सदस्य प्रजिता गेलालले भनिन्, ‘मैले नयाँ विधान अनुसार जसरी भए पनि स्थान प्राप्त गर्नुपर्ने हो तर रिसरागका कारण मेरो नाम हटाइएको छ र कयैन निकै पुराना सदस्यलाई भोटर बनाइएको छ।’

गेलालले यस छनोट विरूद्ध आफूले आइसीसीमा समेत उजुरी हालेको बताइन्। गेलाल यसअघि पनि एनआरएन अस्ट्रेलियाको नारी निकुन्जलगायत राज्य समितिमा सदस्यको भूमिकामा थिइन्।

यता एनआरएन अस्ट्रेलियाका पूर्व केन्द्रिय सदस्य अजय राजवंशीले वरियताक्रमलाई मान्ने हो भने रोल क्रम र पछिल्लो कार्यसमितिलाई मान्यता दिनुपर्नेमा त्यसो नगरिएको र वरियता मिचेर पुराना र आफ्नालाई स्थान दिइएको आरोप लगाए।

परोपकारी अभियानको यस कुम्भ मेलामा एनआरएन अस्ट्रेलियाले समेत समाजका सबै पक्षलाई समेटन नसकेको राजवंशीले बताए।

यता नामावली पठाउने अन्तिम दिन १५ अगष्टमा हुने निर्वाचनमा ३१ जनाको मात्र निर्वाचन गर्न लागिएको छ। यद्यपी कुल संख्याको २५ प्रतिशतमा ४५ जना हुन्छ। तर के कारण ३१ जनाको मात्र चुनाव हुन लागेको हो त्यो स्पष्ट पारेको छैन। बाँकी १४ जना कहाँ र के प्रयोजनका लागि राखिएको त्यो कुनै खुलाइएको छैंन।

‘हामीले समय कम पायौं र अब चुनाव कति गर्ने भन्ने सोचमा पुग्यौं, त्यसैले पनि यस निर्वाचनमा जितेका प्रतिनिधिबीच निर्वाचन गरेर बाँकी २५ प्रतिशत छान्ने निर्णयमा पुगेका हौं’, वर्तमान अध्यक्ष केशव कँडेलले बताए।

आइसीसीले निर्वाचनमा शुल्क लिन नपाइने भन्दा भन्दै किन १०० डलर शुल्क तोकेको भन्ने प्रश्नमा कँडेल भन्छन्, ‘निर्वाचन खर्च पाँच हजार डलर लाग्छ त्यहीँ उठाउन लागेका हौं, अरू केही होइन। पैसा धेरै उठेमा दामासाहीले फिर्ता गर्नेछौं।’

आइसीसीको विधानमा स्पष्ट उल्लेख हुँदाहुँदै किन त्यसको विपरीत यसरी २५ प्रतिशतको निर्वाचनमा जान लागेको भन्ने प्रश्नमा कँडेलले भने, ‘हामीले हाम्रो धर्म पुरा गर्ने हो, बाँकी आइसीसीले जे गरोस्।’

आइसीसीको विधानमा भने साधारणसभा मार्फतनै बाँकी २५ प्रतिशत चुन्नुपर्ने स्पष्ट किटान गरिएको छ।

यता एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मी भन्छन्,‘अध्यक्षले कुर्न पनि क्राइट एरिया नबनाइ पूर्व सदस्यलाई मनोनित गरेको देखिन्छ।’

पछिल्लो दुई वर्षको कार्यकालमा अध्यक्षज्यूले विधि र विधानलाई मिचेर आफूखुसी कार्य गर्दै आएको आरोप लगाउँदै महासचिव रेग्मीले भने, ‘२५ प्रतिशत प्रतिनिधिका लागि वकाइदा निर्वाचन समिति बनाएर निर्वाचन गराएर प्रतिनिधि छान्नुपर्छ। नत्र स्पष्ट रूपमा आइसीसीले यसलाई विधानसम्मत नभएका कारण मान्यता दिँदैन। यसले विवाद ल्याउने पक्का छ।’

एनआरएन आइसीसीका केन्द्रिय महासचिव हेमराज शर्मा महाधिवेशन प्रतिनिधि छनोटका लागि विधानमा स्पष्ट उल्लेख भएको र सो बमोजिम नगरिएमा त्यस्ता प्रतिनिधिले सम्मेलनमा सहभागि हुन नपाउने बताउँछन्। ‘हामीले पटक पटक भनेका छौं, समय पनि दिएका छौं, अटेर गर्ने र विधि विधान नमान्ने एनसीसीलाई विधान बमोजिम कारबाही हुन्छ’, महासचिव शर्माले भने।