१३ बैशाख २०८१, बिहीबार
Follow Us

चेल्सीलाई युइएफए सुपरकप उपाधि

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७८, बिहीबार ०५:५३

इङ्लिस क्लब चेल्सीले युइएफए सुपरकप फाइनलमा स्पेनिस क्लब भिल्ला रियललाई पराजित गर्दै उपाधी हासिल गरेको छ ।

युरोपेली सिजनको सुरुवातको रुपमा लिइने युइएफए सुपरकपमा च्याम्पियन्स लिग विजेता चेल्सी र युरोपा लिग विजेता भिल्ला रियलबीच फाइनल प्रतिस्पर्धा भएको थियो । नर्थन आयरल्याण्डको विन्डसोर पार्कमा आज बिहान सम्पन्न फाइनल खेलमा चेल्सीले टाइब्रेकरमा भिल्ला रियललाई पाँचका विरुद्ध छ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा १-० गोलले पछाडी परेको भिल्ला रियलले दोस्रो हाफको ७३औं मिनेटमा भिल्ला रियलका जर्राड मोरेनोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेटको खेल र त्यसपछिको अतिरिक्त समयको खेल पनि १-१ गोलको बराबरीमा टुङ्गिएपछि फाइनल खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा चेल्सीले ६-५ गोलको अन्तरले भिल्ला रियललाई पछि पार्दै युइएफए सुपरकपको ४६औं संस्करणको विजेता बनेको हो । चेल्सीको यो सन् १९९९ पछिको दोस्रो उपाधी हो भने भिल्ला रियलको यो पहिलो फाइनल यात्रा हो ।

चेल्सीले फाइनलमा म्यानचेष्टर सिटीलाई १-० गोलले पराजित गर्दै च्याम्पियन्स लिगको विजेता बनेको थियो । त्यसैगरी भिल्ला रियलले इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै युरोपा कपको विजेता बनेको हो । कोरोना महामारीका बीच पनि उच्च स्वास्थ्य मापदण्ड अपनाउँदै करिब ११ हजार दर्शकमाझ खेलिएको फाइनल खेल निकै रोमाञ्चक रहेको थियो ।