१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए कोषाध्यक्षमा लोक दाहालको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७८, शुक्रबार १४:२७

लण्डन। बेल्जियम निवासी ब्यबसायी लोकप्रसाद दाहालले एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिबेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

वर्तमान कार्यसमितिमा सहकोषाध्यक्ष रहेका दाहालले संस्थामा आर्थिक पारदर्शिताको शुरुआत गरेका थिए ।

उनकै कार्यकालमा संघभित्र आर्थिक पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको लागू गरिएको छ ।

संस्थामा विगत दुई वर्षमा सुरुआत गरिएका आर्थिक नीतिलाई संस्थागत गर्ने लक्ष्यसहित दाहालले उम्मेदवारी दिन लागेको नेपालब्रिटेन डट कमलाई बताए ।

हालै सम्पन्न गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचन समितिको संयोजक समेत रहेका दाहाल बेल्जियममा निकै मिलनसार र सहयोगी व्यक्तिको रुपमा परिचित छन् ।

उनी एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष तथा पूर्वमहासचिव समेत हुन्।

बेल्जियममा रेष्टुरेन्ट व्यबसाय गर्दै आएका दाहालले नेपालमा परोपकारी कामहरुमा निरन्तरता दिइरहेका छन्।

कोरोना महामारीमा उनले संघभित्र आर्थिक संकलन गर्न र स्वास्थ्य सामग्री वितरणमा सकृय सहयोग गरेका थिए । उनकै पहलमा ७२ लाख रुपैयाँ भन्दा बढी लगानीमा धादिङमा बद्री विशाल माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको थियो। भूकम्पपछि बिभिन्न जिल्लाहरुमा पुगेर दाहालले उद्धार तथा पीडितहरुलाई सहयोग समेत गरेका थिए।

उनले पर्वत जिल्लामा पुगेर स्वास्थ्य सम्बन्धी सामग्री समेत वितरण गरेका थिए ।

उनले आगामी दिनमा गैरआवासीय नेपाली संघमा नयाँ आर्थिक नीति तथा भावि योजना सार्वजनिक सहित औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

उनीले संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी डा. बद्री केसीको समूहबाट उम्मेदवारी दिने तयारी गरेको बताएको छ ।