८ बैशाख २०८१, शनिबार
Follow Us

भूतपूर्व गोर्खाका माग पूरा गराउन प्रवासी नेपाली मञ्च यूकेको पहल

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७८, शुक्रबार १८:४०

लन्डन । प्रवासी नेपाली मञ्च यूकेले अनसन बसिरहेका भूतपूर्व गोर्खा सैनिकका समान पेन्सन लगायत मागहरू पूरा गराउन जोड दिंदै सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

सङ्गठनका अन्तराष्ट्रिय कमिटी अध्यक्ष समेत रहेका प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष भक्त गुरुङको नेतृत्वमा संगठनका पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि ‘टेन डाउन स्ट्रिट’ मा अनसनमा बसिरहेका ज्ञानराज राईलगायत अनसनकारीलाई भेटी सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको हो ।

उक्त अवसरमा सत्याग्रह आन्दोलनका प्रमुख संयोजक कृष्णबहादुर राईलाई अध्यक्ष गुरुङले सङ्गठनको तर्फबाट ऐक्यबद्धता पत्र हस्तान्तरण गर्दै भूतपूर्व गोरखा सैनिकका माग नितान्त जायज रहेका र बेलायत सरकारले अविलम्ब पुरा गरोस् भन्ने चाहना बेलायतका आम जनसमुदायको रहेको बताए ।

अध्यक्ष गुरुङले सत्याग्रहीमाथि कुनै पनि किसिमको प्रहरी हस्तक्षेप र बल प्रयोग सैह्य नहुने बताउँदै प्रहरीका यस्ता मानवअधिकार विरोधी कार्यप्रति बिरोध जनाएका थिए ।

अर्का वक्ता संगठनका पूर्व अध्यक्ष दिनेश घिमिरेले बेलायतको सुरक्षाका लागि जीवन बलिदान दिन समर्पित भूतपूर्व गोरखाहरूका जायज माग सरकारले बिना हिच्किचाहट यथाशिघ्र पुरा गर्नु पर्नेमा जोड दिंदै सत्याग्रह आन्दोलनको पक्षमा बेलायती जनसमाजको समेत समर्थन रहेको बताए ।

यसैगरी महासचिव सुरेशजङ्ग शाहले गोरखा सैनिकहरूका योगदानले यो माटो र मुटुसँग सम्बन्ध राखेको चर्चा गर्दै भूतपूर्व गोरखाप्रति बेलायत सरकारले पक्षपातपूर्ण ब्यवहार गर्न नहुने धारणा राखे ।

यस अघि केन्द्रीय सदस्य नरेन्द्र तामाङले सत्याग्रह आन्दोलनप्रति आम समुदायको चिन्ता रहेको र सरकारले भूतपूर्व गोरखा सैनिकका माग पुरा गरी उनीहरूको योगदानको कदर गर्नु पर्ने बताए।

उक्त अवसरमा आन्दोलनका संयोजक कृष्णबहादुर राईले भूतपूर्व गोरखा सैनिकहरूका समस्या र सत्याग्रह आन्दोलनको उद्धेश्यबारे जानाकारी दिएका थिए ।

ऐक्यबद्धता प्रतिनिधि टोलीमा केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष सरस्वती केसी, उपाध्यक्ष तुङ्गभद्र भुषाल, कोषाध्यक्ष पुन्य रेग्मी, विभागीय प्रमुखहरू जीवन सेन, बालकृष्ण भुषाल, ह्यारी गुरुङ, केन्द्रीय सदस्यहरू प्रकाश कँडेल, प्रेम गुरुङ र क्षेत्रीय सदस्य भिमलाल भट्टराई लगायतको उपस्थिति थियो ।