१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सापकोटाले युरोप उपसंयोजकमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७८, शुक्रबार १९:५४

लन्डन । बेलायत लेस्टर निवासी एकजना व्यवसायी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले आउंदो अक्टोबरमा हुने एनआरएनए महाधिवेशनमा युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हाल बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य रहेका सापकोटा सन् २००६ देखि नै गैर आवासीय नेपाली अभियानमा सक्रिय रहदै आएका छन्।

‘म नेपाली समाजमा केही गर्नुपर्छ भन्ने सदैव चाहना 
राख्ने व्यक्ति हुं। पेशागत दक्षता बांडेर होस् वा आर्थिक, सामाजिक सहयोग दिएर, म मातृभूमिसंग सधैं सामिप्यमा रहें र अब पनि रहनेछु’,उम्मेदवारी दिनुको प्रमुख कारण समाजसेवा नै रहेको प्रष्टयाउंदै उनले बताए ।

बाग्लुंगबाट जर्मनी हुदै बेलायत बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिए दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बी.कम. अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी । जर्मनी जानु आफ्नो वाध्यता र रहर दुवै भएको स्मरण गर्छन् दयानिधि । 
उनले करिब १५ वर्ष जर्मनीमा बिताए ।

सन् २००६ मा बेलायत आएपछि युरोप महादेशमा भए पनि बेलायतलाई झन् फरक शैलीमा बुझ्न पाएको उनी बताउंछन् । ‘सन् २०१३ मा मैले यूकेको लेस्टर शहरमा ‘ओजी’ इटालियन रेष्टुरेन्ट खोल्न सफल भएं’, दयानिधि भन्छन्, ‘अहिलेसम्म यही पेशामा आवद्ध छु । नेपाली भएर अरु देशको खाना ख्वाउने एउटा चुनौतिपूर्ण पेशामा म सफल भइरहंदा आफूलाई भाग्यमानी पनि ठानेको छु ।’

सृजनशील लेस्टर नेपाल यूकेको दुई कार्यकाल अध्यक्ष र साझा नेपाली समाजको संस्थापक सदस्य तथा विधान समिति संयोजक भएर पनि उनले काम गरे। त्यस्तै उनले आफ्नो जन्मथलोमा विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कार्यक्रमहरु अगाडि बढाउने उद्देश्यले बिहुंकोट हेल्प नेटवर्क यूकेको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पाए ।

‘म नेपाली समुदायको माया देखेर आफूलाई भाग्यमानी पनि ठान्छु । नेपाल ब्रिटेन डटकमले हरेक वर्ष बेलायतका १० चर्चित व्यक्ति छान्ने क्रममा सन् २०१४ मा दश चर्चित व्यक्तिमध्ये म पनि पर्न सफल 
हुंदा र समाजमा गरेका कामहरुको मुल्यांकन हुंदा गौरवान्तित महशुस गरेको छु’, सापकोटाले भने । आफ्नो उम्मेदवारीको उद्देश्यबारे बताउदै उनले भने, “बेलायत एनआरएनएको जन्मभूमि पनि हो। बेलायत लगाएत युरोपभरिका नेपालीहरुलाई समेट्ने र गोर्खा समस्या समाधान गर्न मैले सक्दो पहल गर्ने छु,” ।