१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए प्रतिनिधि चयनका लागि जर्मनीमा चुनाव

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७८, आईतवार १०:०९


दीपक धिताल ।

जर्मनी। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी महाअधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जर्मनीले निर्वाचन शुरु गरेको छ। १५ सय ९५ प्रमाणित सदस्य भएको जर्मनीको तर्फबाट १ सय १५ जना प्रतिनिधि छनौट हुन पाउनेछन्।

आइसीसीको मापदण्ड अनुसार हजार जना सदस्यसम्म प्रति १० जना बराबर १ जना प्रतिनिधि र हजार जना पछि प्रति ४० जना बराबर १ जना प्रतिनिधि संख्या तय हुने भएकाले जर्मनीबाट १ सय १५ जनाको संख्या तय भएको हो। जसमध्ये ७५ प्रतिशत एनसीसी कार्यसमितिले चयन गर्ने प्रावधान रहेको छ।

६५ प्रतिशत आइसीसीको मापदण्ड अनुसार एनआरएनए अभियन्ताहरुलाई बरियताको आधारमा चयन गरिसकेको र १० प्रतिशत लाई आफ्नो अधिकारले स्वतन्त्र रुपमा एनसीसीको आज बस्ने बैठकले तय गर्ने अध्यक्ष मिलन पन्तले जनाएका छन्।

१ सय १५ जना प्रतिनिधिको लागि १ सय ८२ जनाले आवेदन दिएकाले निर्वाचनमा जानुपरेको उनले बताए। १ सय १५ को ६५ प्रतिशत ७५ जना छनोट भइसकेकाले बाँकी १०७ जनालाई आज निर्वाचनमा लगिएको र त्यहाँबाट २९ जना चयन भएर आउने प्रबक्ता दिनेश गौतमको भनाइ छ। ती १०७ जनामध्ये २९ जनालाई १५ सय ९५ जना प्रमाणित सदस्यले मतदान गर्न पाउनेछन्।

बाँकी ११ जनाको हकमा आजै बस्ने कार्यसमिति बैठकले निर्णय गर्ने गौतमले बताए । एनआरएनए सदस्यता आवेदन भर्दा प्रयोग गरिएको स्मार्ट एनआरएनए मोबाइल एप मार्फत नै आज मतदान गर्न सकिने पनि उनले बताए।

स्थानीय समय अनुसार विहान १० बजेबाट शुरु भएको विद्युतिय मतदान कार्यक्रम बेलुका ८ बजेसम्म जारी रहनेछ । छोटो समयावधिमा निर्वाचनको सुचना जारी भएकाले सबै पञ्जिकृत सदस्यहरुलाई निर्वाचन हुने भन्ने विषयमा अनविज्ञता पनि देखिएको छ।

निर्वाचन शुरु हुनु भन्दा १ घण्टा पहिले मात्र सुचना जारी भएकाले जानकारी अभावमा मतदाताहरु आफ्नो मत दिने अधिकारबाट बञ्चित हुन सक्ने भन्दै केहि असन्तुष्टि पनि देखिएको छ। तर आइसीसीको निर्देशन अनुसार आज राति १२ बजेसम्म अन्तिम नामावली पठाइसक्नुपर्ने भएकाले बाध्यात्मक रुपमा छोटो अवधिमै निर्वाचनमा जानुपरेको महासचिव राजेश सुनारले जानकारी दिए।