१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘दूतावासको सेवा बन्द गरेर एनआरएनलाई सम्मान’

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७८, बुधबार ०२:५९

लन्डन । लन्डनस्थित नेपाली दूतावासले सेवाग्राहीको महत्वपूर्ण समयलाई खादामालामा खर्चिएको छ । बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीको आयोजनामा मंगलवार दिउँसो दुतावास भवनभित्र एक सम्मान कार्यक्रमको आयोजना गर्दा सेवाग्राही प्रभावित भएका छन् ।

दूतावासले गैरआवासीय नेपाली संघ यूकेको नवनिर्वाचित कार्यसमिति सदस्य तथा पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यालय समयभित्र बोलाएर खादामाला पहिराइ दिएको हो ।
कार्यक्रममा सहगाभी मध्येका एकका अनुसार राजदूतले अन्तिम १२ घण्टाको समय दिएर संघका पदाधिकारीहरुलाई आमन्त्रण गरेका थिए ।

ती सहभागीका अनुसार दिउँसो १२ बजेदेखि सुरु भएको कार्यक्रममा दूतावासका कर्मचारी तथा एनआरएनए पदाधिकारीहरु सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले एनआरएनए यूकेसँग सहकार्य गर्नेमा कुनै दुविधा नभएको बताए ।

उनले एउटै परिवारको सदस्यको रुपमा काम गर्ने प्रतिबद्धता जनाए । उनले आफुसँग काम गर्दा पद, कार्यालय भन्दा माथि उठेर नेपाली भावनात्मक रुपले हेर्न आग्रह गरे ।

कार्यालय समयमा यस्तो सम्मान कार्यक्रमको आयोजना भएको पहिलो पटक हो । प्रायः साँझ वा विदाका अवसरमा हुन्थ्यो । महामहिमज्यूको बोलाउनु भयो आइयो, एक सहभागीले भने । लन्च समयमा दूतावास पुगेका सम्मानित व्यक्तिहरुलाई दूतावासले कालो चियाले अतिथिको सत्कार गरेको थियो ।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर, एनआरएनएका पूर्वउपाध्यक्ष कुल आचार्यलगायत कार्यसमिति सदस्यहरु, आइसीसी सदस्यहरु र इंल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दनआयरल्याण्ड राज्य परिषदका पदाधिकारीहरुको उपस्थिति थियो ।

पूर्वमुख्यसचिव समेत रहेका राजदुत रेग्मीले नेतृत्व समालेपछि दुतावासको महत्व र प्रभाव कम हुदै गएको बेलायतस्थित नेपाली समुदायले महसुस गर्न लागेको कतिपयको बुझाइ छ ।

समान पेन्सन र अधिकारको माग गर्दै आमरण अनसनमा बसेका एक भूपू गोर्खाको मागका सम्बन्धमा समेत राजदूतले यथेष्ट पलह गर्न नसेको भूपुगोर्खाहरुले गुनासो गरेका छन् । आमरण अनसन बसेको करिब दुई साता हुन लाग्दा समेत दूतावासको तर्फबाट बेलायत सरकारलाई एकपत्र लेख्ने काम समेत नभएको बताएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालय बाहिर दुई साता अघिदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । उनीहरुलाई एकपछि अर्को गर्दै अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अनसनरत धन गुरुङलाई हिजो मंगलबार साँझ उपचारको लागि अस्पताल लगिएको हो ।

यो अवस्थामा नेपालीहरुकै संरक्षकको भूमिकामा रहेका राजदूत भने सम्मान र खादामा रमाउनुलाई कतिपयले राजदूत रेग्मीको गैरकुटनीतिक व्यवहार भनेका छन् । रेग्मीले राजदुत नियुक्ति भएपछि कुटनीतिज्ञले लिनुपर्ने तालिम नलिइ बेलायत आएकाले यस्तो समस्या आएको टिप्पणी हुन थालेको छ ।