१३ बैशाख २०८१, बिहीबार
Follow Us

अबको निर्वाचनमा एमालेको बहुमत आउने

नेपालब्रिटेन डट कम्
४ माघ २०७३, मंगलवार १२:४३

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले अबको निर्वाचनमा सबै राजनीतिक दल मिले पनि एमाले अगाडि हुने दाबी गर्नुभएको छ । अनेरास्ववियुद्वारा आजदेखि सञ्चालित ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि अभियान–२०७३’ को उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गौतमले सरकारभन्दा पनि निर्वाचनमा एमालेको जोड रहेको बताउनुभयो ।
संविधान संशोधन विधेयक पारित गराउने सर्तमा सरकारमा सहभागी गराउने भनेर सत्तारुढ दलले फकाउने प्रयास गरिरहेको उहाँको आरोप थियो ।
उहाँले भन्नुभयो – “तर हामी प्रधानमन्त्री र सरकारको लोभमा नपरी देशलाई विखण्डन हुने कुनै पनि विधेयक पारित गराउन दिने छैनौँ ।”
कार्यक्रममा शिक्षाविद् डा मनप्रसाद वाग्लेले शिक्षककै कारण गुणस्तर शिक्षा दिन नसकिएको स्वीकार्दै नोट लेखाउने शिक्षकलाई बहिष्कार गर्नुपर्ने धारणा राख्नुभयो ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले किताबमा लेखिएका कुराभन्दा व्यावहारिक कुरा सिकाउनु पर्नेमा जोड दिनुभयो ।
शिक्षा मन्त्रालयका उपसचिव शिवप्रसाद उप्रेतीले सरकारको प्रयासले मात्र शिक्षामा गुणस्तर ल्याउन नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग हुनुपर्ने बताउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष नविना लामाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न तीन महिने अभियान सञ्चालन गरिएको बताउनुभयो । अभियानको शुभारम्भ गर्दै उपाध्यक्ष गौतमले अखिलका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्यलाई झोला वितरण गर्नुभएको थियो । अभियानका क्रममा अभियन्ताहरुले प्रत्येक सरकारी क्याम्पस र विद्यालयमा पुगी शिक्षाको वस्तुस्थितिका बारेमा अध्ययन गर्ने गुणस्तरीय शिक्षा दिन पहल गर्ने बताइएको छ ।