१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए उपाध्यक्षमा महेश श्रेष्ठले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७८, आईतवार १४:३८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

संघको वित्तिय सुधारमा व्यापक काम गरेर वाहवाही बटुलेका श्रेष्ठको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयले सकारात्मक सन्देश गएको छ।

कोषाध्यक्ष पदमा कार्यरत रहँदा उनले संघको सचिवालयमार्फत हुने सम्पूर्ण आर्थिक हिसाब किताब पारदर्शी ढंगले सार्वजनिक गर्दै आएका थिए। उनले हरेक तीन–तीन महिनामा संघको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै आएका छन्, जसले एनआरएनए वृत्तमा सकारात्मक सन्देश गएको थियो। उनको कार्यकालमा भएको हिसाब किताब अहिले पनि सर्वसाधारणले वेभसाइटमार्फत हेर्न सक्छन्।

श्रेष्ठले दुई वर्षअघि कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदै गर्दा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनी आफ्नो वचनमा पक्का देखिएका थिए।

अघिल्लो महाधिवेशनमा आर्थिक अपारदर्शीताको मुद्धा उठेपछि संघको आर्थिक प्रतिवेदन पास हुन नसकेको बेला उनकै पहलमा डेढ वर्षपछि पास भएको थियो। उनले कोषाध्यक्ष निर्वाचित भएपछि डीडीए प्रतिवेदन तयार पारेर पास हुन नसकेको संघको आर्थिक प्रतिवेदनलाई विशेष महाधिवेशनमार्फत पास गराएका थिए। उनको कार्यकालमा संघको आन्तरिक अडिट रिपोर्ट निकै बलियो भएको छ।

उनले हरेक तीन–तीन महिनामा संघको सम्पूर्ण वित्तिय कारोबार सार्वजनिक गर्ने परिपाटी बसालेर आर्थिक प्रतिवेदनलाई चुस्त तुरुस्त बनाएका छन्।

श्रेष्ठसँग ठूला परियोजनामा काम गरेको अनुभव छ। उनी सालीन र भद्र मानिन्छन्। आर्थिक मामिलामा निकै कडा मानिने श्रेष्ठसँग नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिमा सदस्य भएर काम गरेको अनुभव छ।

उनी विगत लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन्। हाईड्रो, बैंकिङ, रेमिट्यान्स, आधुनिक कृषि, आईटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधार लगायत व्यवसायिक क्षेत्रमा संलग्न श्रेष्ठको अनुभव एनआरएनएका लागि महत्वपूर्ण मानिन्छ।

‘लामो समय एनआरएनएमा आवद्ध भए। आफ्नो उर्जा र ज्ञान बाँड्न उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। अभियानमा सबैले मलाई साथ दिनुहुन्छ भन्ने आशा छ,’ श्रेष्ठले भने।

श्रेष्ठको जन्म पर्वतको कुश्मामा भएको थियो। उनले प्रारम्भिकदेखि माध्यमिकस्तरको अध्ययन कुश्माबाटै सकेका थिए। नेपालमा हुँदा उनले त्रिभुवन विश्वविधालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेका थिए। उनले जापानको ग्लोबिस विश्वविधालयबाट पनि व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। यस्तै उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा पनि गरेका छन्। उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी गर्दैछन्।

श्रेष्ठसँग जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यकारी निर्देशक ९सीइओ०, तोनान कम्पनीमा अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टमा निर्देशक, सिटी ट्राभल एण्ड टुरमा निर्देशक, एभरेष्ट इन्टरनेसनल स्कुल जापानको प्रमोटर एवं सल्लाहकार, सीई ह्युमन रिसोर्सेस कम्पनी लिमिटेडको डाइरेक्टर तथा एसबिआई सिटी एक्सप्रेस ग्लोबलको निर्देशक बनेर काम गरेको अनुभव छ।