१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली मेलाको तयारी पुरा : तमुधिं यूके

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७८, आईतवार १४:४८

लण्डन । तमुधिं यूकेको आयोजनामा अगस्ट २९ गते आइतबार हुने १२ औं नेपाली मेलाको तयारीको विषयमा आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

मेला संयोजक समेत रहेका बरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेलाको तयारीबारे जानकारी गराए ।

लन्डनको केम्पटन पार्क रेसकोर्समा विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने उक्त मेलामा बेलायत सरकारले कोभिड सम्बन्धी नियमहरु हटाएपनि मास्क भने अनिवार्य गरिएको उनले बताए ।

बेलायतस्थित नेपाली राजदूतावासको प्रायोजनमा आयोजना हुने एम्बेसडर कपमा प्रथम पुरस्कार एक हजार १ सय, द्धितिय पुरस्कार ७ सय, तथा तृतिय पुरस्कार ५ सय पाउण्ड रहने भएका छन् ।

सांस्कृतिक नाँच, झाँकी प्रदर्शन लगायतका विविध प्रतियोगिताहरुमा यूकेमा रहेका १९ वटा संस्थाले भाग लिने उनले बताए । जसमा ३१ हजार पाउण्ड आम्दानी हुने उनको भनाइ छ ।

झाँकी तर्फ प्रथम पुरस्कार ५ सय पाउण्ड, दोस्रो पुरस्कार ३ सय तथा नृत्यतर्फ प्रथम हुनेलाई ५ सय, द्धितिय हुनेलाई ३ सय पाउण्ड प्रदान गरिने भएको छ । जसमा एनआरएनए यूकेले ३ सय पाउण्ड सहयोग गर्ने भएको छ ।

झाँकीको लागि निर्णायक ४ जना नेपाली कला संस्कृतिविद रहेका छन् । नृत्यको लागि ३ जना निर्णायक रहने भएका छन् । उक्त प्रतियोगिताको लागि लण्डन दूतावासबाट ५ सय पाउण्ड सहयोग प्राप्त भएको छ ।

राजदूत लोकदर्शन रेग्मीले उद्घाटन गर्ने उक्त कार्यक्रममा ७ स्टल रहनेछन । हरेक स्टलको मूल्य एक हजार पाउण्ड तोकिएको आयोजकले जनाएको छ ।

मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षण रहनेछन् ।

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी हुने बताए ।

बेलायतबासी सबै नेपाली जातजाती, धर्म, सम्प्रदायका मानिसहरुको सामूहिक पर्वको रुपमा यस कार्यक्रमलाई प्रभावकारी बनाउने भन्दै उनले सबै बेलायतबासी नेपालीहरुलाई कार्यक्रममा सहभागि हुन् अपिल गरेका छन् ।