१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतद्धारा एक लाख ३० हजार डोज खोप सहयोग

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७८, बिहीबार २१:३२

लन्डन । बेलायत सरकारले द्विपक्षीय सहायताअन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल पुगेको छ ।

बेलायत सरकारद्वारा उपलब्ध गराइने भनिएको एक लाख ३० हजार मात्रा एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौं पुगेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । बेलायत सरकारले गरेको सहयोगका लागि दूतावासले आभार समेत प्रकट गरेको छ ।

खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।

खोप हस्तान्तरणपछि राजदूत पोलिटले बेलायतले आफ्नो पुरानो मित्रराष्ट्र नेपाललाई कोभिडविरुद्धको खोप सहयोग प्रदान गर्न पाउनु खुशीको कुरा रहेको बताइन् ।

‘कोभिशिल्ड’ कार्यक्रमअन्तर्गत बेलायत सरकारले गरेको सहयोगअन्तर्गत यो खोप नेपाल पुगेको उनले स्पष्ट पारिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत) ले खोपको पूरा मात्रा लगाएका छन् ।

खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको संख्या ३० प्रतिशत छ ।

यसैगरी सरकारले कोरोनाविरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको पनि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

हाल नेपालमा दैनिक तीन लाख मानिसहरुले खोप लगाउने गरेकोमा यो संख्या बढाएर पाँच लाख पुर्‍याउने सरकारको लक्ष्य छ ।