८ बैशाख २०८१, शनिबार
Follow Us

इन्टर मिलान शीर्ष स्थानमा

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७८, शनिबार ०६:३९

इटालियन सिरि‘ए’ मा साविक विजेता इन्टर मिलानले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टोली हेलास भेरोनालाई ३–१ गोल अन्तरले हराउँदै इन्टरले लगातार दोस्रो जित निकालेको हो ।

इन्टरको जितमा जोआक्विन कोरियाले दुई तथा लौटारो मार्टिनेजले एक गोल गरेका थिए । पराजित भेरोनाको लागि इभान इलिकले एक सान्त्वना गोल गरे ।

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो । उसका इभानले १५ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा अग्रता जोगाएको भेरोना दोस्रो हाफमा भने निरीह रह्यो ।

लौटारो मार्टिनेजले ४७ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याए । खेलको ८३ र थपिएको ४ मिनेटमा गोल गर्दै परिवर्तित खेलाडी कोरियाले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै २ खेलबाट ६ अंक बनाएको इन्टर शीर्षस्थानमा रहेको छ । यता भेरोना भने २ खेलबाट बिना अंक १८ औं स्थानमा छ ।